नयाँ व्यवसायमा नेपाल लाइफलाई पच्छ्याउँदै नेशनल: हिमालयन, सूर्यज्योति र एलआइसीको प्रतिस्पर्धा
काठमाडौं । जीवन बीमा कम्पनीहरुले सात महिनामा १६ अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको जीवन बीमकको चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
सात महिनामा हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन १६ अर्ब ११ करोड ६ लाख रुपैयाँ पुगेको छ । तर, यो गत वर्षको सोही अवधिको तुलनामा भने सामान्य घटेको हो। गत आवको माघ समान्तसम्ममा पनि कमपनीहरुले १६ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएका थिए ।
जीवन बीमा १ बर्षका लागि मात्रै नभएर बहुवर्षीय अवधिका लागि गरिन्छ । तर, त्यसको शुल्क भने वार्षिक रुपमा भुक्तानी गरिन्छ । त्यसअनुसार बीमा गर्ने व्यक्तिले पहिलो बर्ष तिर्नेलाई शुल्कलाई प्रथम बीमाशुल्कको रुपमा गणना गरिन्छ । त्यसपछिका वर्षहरुमा तिरिने शुल्कलाई भने नविकरणीय शुल्कमा गणना गरिन्छ ।
तर, आर्थिक शिथिलताका कारण पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसायमा बढ्न सकेको छैन् । आर्थिक सङ्कटकै कारण आम मानिसहरूमा आम्दानी प्रभावित भएको छ । बजार महँगी बढेको छ भने क्रय (खरिद) शक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसहरूले बीमालेख नवीकरण नै गर्न सकेका छैनन् । यस्ता कारण पनि नयाँ व्यवसाय दबाब देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । समिक्षा अवधिमा अधिकांश कम्पनीहरुको नयाँ व्यवसायमा गिरावट नै देखिन्छ ।
नयाँ व्यवसायमा पनि नेपाल लाइफकै वर्चश्व, पच्छ्याउँदै नेशनल लाइफ
समिक्षा अवधिमा सबैभन्दा धेरै नयाँ व्यवसाय भित्राउन पनि नेपाल लाइफ नै शीर्ष सूचीमा छ । कम्पनीले ७ महिनामा ३ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको माघ मसान्तसम्मको तुलनामा पनि २१.३० प्रतिशत बढी हो ।
सर्वाधिक नयाँ व्यवसाय भित्राउनेको दोस्रो सूचीमा भने नेशनल लाइफ रहेको छ । समिक्षा अवधिमा कम्पनीको नयाँ व्यवसाय १८.७१ प्रतिशत बढेर २ अर्ब ३५ करोड ६९ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा एशियन लाइफको नयाँ व्यवसाय ६.३३ प्रतिशत, आइएमई लाइफको ७.५४ प्रतिशत र मेट लाइफको २.७३ प्रतिशत बढेको छ । यी बाहेकका अन्य कम्पनीको यस्तो व्यवासयमा भने गिरावट देखिएको छ।
हिमालयन, एलआइसी र सूर्यज्योतिको नयाँ व्यवसाय अर्बमाथि, अन्य कुनको कति ?
चालु आवको ७ महिनामा तीन वटा कम्पनीहरुको नयाँ व्यवसाय भने १ अर्ब माथि पुगेको छ । समिक्षा अवधिमा हिमालयन, एलआइसी नेपाल र सूर्यज्योति लाइफले ७ महिनामा प्रथम बीमा शुल्क आर्जन १ अर्ब कटाएका हुन् । प्रथम बीमा शुल्क आर्जनका आधारमा यी तीनै वटा कम्पनीबीच प्रतिस्पर्धा जस्तो पनि देखिन्छ।
माघ मसान्तसम्ममा हिमालयन लाइफले १ अर्ब २० करोड १५ लाख, एलआइसी नेपाल १ अर्ब १९ करोड ८७ लाख र सूर्यज्योति लाइफले १ अर्ब १५ करोड २७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै, समिक्षा अवधिमा सिटिजन लाइफको प्रथम बीमा शुल्क ९५ करोड ६३ लाख, सानिमा रिलायन्सको ८५ करोड ९१ लाख, सन नेपालको ७७ करोड ३ लाख, आइएमई लाइफको ७६ करोड ७५ लाख, रिलायवल नेपालले ७४ करोड ६२ लाख, प्रभु महालक्ष्मीले ४५ करोड ८१ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ३५ करोड १४ लाख रुपैयाँ संकलन गरेका छन् ।














