एक सूचकको गिरावटलाई हेरर बैंक सकियो भन्न मिल्दैन: डेपुटी गभर्नर मिश्र « Arthapath.com
१० असार २०८२, मंगलबार

एक सूचकको गिरावटलाई हेरर बैंक सकियो भन्न मिल्दैन: डेपुटी गभर्नर मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले कुनै पनि बैंकको एउटा कमजोर सूचक औँल्याएर संस्था नै सकिएको भन्न नमिल्ने बताएका हुन् ।

‘बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छन्। त्यसैले यो क्षेत्रलाई सवेदशील मानिन्छ’, उनले भने, ‘बैंकहरुले निक्षेपकर्ताको करिब ६२ खर्बको निक्षेप बोकेर बसेका छन् । यति धेरै दायित्व रहेका संस्थाको एक सूचकको गिरावटलाई हेरर त्यो सकियो भन्न हुँदैन।’

कसैले पनि एक सूचक देखाएर संस्था सकियो भन्दा त्यसको असर धेरै ठाउँमा देखिने बताए। त्यसकारण यस्ता सवेदनशील क्षेत्रको बारेमा कुनै समाचार प्रवाह गर्दा निक्षेपकर्ताको विश्वासलाई ख्याल गर्नुपर्ने उनको भनाइ छ।

पछिल्लो समय कुनै बैंकको एक एउटा सूचकलाई हेरेर संस्था नै डुब्न लागेको भन्ने सूचना सम्प्रेषण हुँदा त्यसको खण्डन गर्न केन्द्रीय बैंकले विज्ञप्ति नै जारी गर्नुपरेको उनले बताए। अहिले बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) सहज अवस्थामा रहेको मिश्रले बताए। ‘अहिले बैंकहरु तरलताको सहज अवस्थामा छन्। तरलतालाई हेर्दा बैंकहरु सहज अवस्थामा हुँदा बैंकहरुको एउटा सूचकमा केही समस्या हुँदैमा त्यसलाई मात्रै हेरेर त्यो सकियो भन्न मिल्दैन’, उनले भने, ‘त्यसैले यस्तो संवेदनशील क्षेत्रको बारेमा सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्छ।’

पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताका कारण सबै क्षेत्रको मनोबल घटेको छ। ब्याजदर घट्दो अवस्थामा हुँदा विस्तारै कन्फिडेन्स बढाउनुपर्ने देखिन्छ।

केन्द्रीय बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थाले यस क्षेत्रमा जाने कर्जा बढ्ने र कन्फिडेन्ट बढ्ने उनले बताए। बढ्दो रेमिट्यान्स र आयात घट्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको सुधारसँगै विदेशी विनिमय सञ्चिति बढेको हुँदा आत्तिनुपर्ने अवस्था नरहेको मिश्रले बताए।


प्रतिक्रिया दिनुहोस्