कर्मचारी बोनसमा अव्वल स्ट्याण्डर्ड, प्राइम र एभरेष्ट, यस्तो देखियो बैंकहरुको रोलक्रम
काठमाडौं । बैंकहरुले आफ्ना कर्मचारीहरुको लागि साढे ४७ अर्ब बढी खर्चिएका छन् । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
९ महिनामा बैंकहरुले कर्मचारी तलब तथा बोनसका लागि कुल ४७ अर्ब ७७ करोड ८१ लाख ८९ हजार रुपैयाँ खर्चिएका छन् । योमध्ये बैंकले आफ्ना कर्मचारीहरुको तलबका लागि ४१ अर्ब ११ करोड ९२ लाख ६२ हजार रुपैयाँ खर्चिएका छन् । समिक्षा अवधिमा बोनका लागि भने ६ अर्ब ६५ करोड ८९ लाख २७ हजार रुपैयाँ छुट्याएका छन् ।
कानुन अनुसार कर्मचारीहरुका लागि १० प्रतिशत छुट्याउनुपर्ने प्रावधान छ । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । सोही अनुसार बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्छन् । यद्यपि, कतिपय बैंकहरुले औषतभन्दा धेरै बोनस पाउछन् भने कति कम पनि पाउने गरेका छन् ।
बैंकहरुले कर्मचारीलाई वितरण भने आ–आफ्नै तरिकाले बोनस बाँड्ने गरेका छन् । अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता किस्तामा पनि वितरण गरेको पाइन्छ । भने केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साताभित्र वितरण गर्छन् । यस्तै, केही बैंकहरूले दशैंमा र वार्षिक साधारणसभामा बोनस वितरण गर्दै आएका छन् ।
चालु आवको ९ महिनामा बैंकहरुले कर्मचारीका लागि २.४७ प्रतिशतदेखि झन्डै ५० प्रतिशतसम्म खर्च गरेको पाइएको छ । तर, औसतमा भने २० वटा वाणिज्य बैंकहरुले १६.१९ प्रतिशत खर्च गरेका छन् । कर्मचारीहरुका लागि सबैभन्दा धेरै खर्च स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको छ । बैंकले कर्मचारीको सेवा सुविधाका लागि ४९.३४ प्रतिशत खर्च गरेको छ । समिक्षा अवधिमा बैंकले कर्मचार तलबमा ७८ करोड ७२ लाख ६२ हजार रुपैयाँ खर्चिएको छ । बोनसका लागि भने बैंकले ३८ करोड ८४ लाख रुपैयाँ छुट्याएको छ ।
रोलक्रमअनुसार दोस्रो सूचीमा रहेको स्थानमा भने प्राइम कमर्सियल बैंक छ । बैंकले आफ्ना कर्मचारीलाई तलब खर्चको ४२.४८ प्रतिशत बोनस दिने भएको छ । ९ महिनामा प्राइमले कर्मचारीका लागि १ अर्ब ७ करोड ५५ लाख ६५ हजार रुपैयाँ खर्चिएको छ भने बोनस व्यवस्थाका लागि ४५ करोड ६८ लाख ६३ हजार रुपैयाँ छुट्याएको छ ।
यस्तै, आफ्ना कर्मचारीलाई खुसी पार्न एभरेष्ट बैंक पनि खप्पिस नै देखिएको छ । बैंकले कर्मचारी तलबका लागि १ अर्ब ३० करोड २२ लाख रुपैयाँ खर्चिएको छ । तलब खर्चको ३१.८० प्रतिशत बोनस दिएको छ । बैंकले कर्मचारी बोनस व्यवस्थाका लागि ४१ करोड ४० लाख रुपैयाँ छुट्याएको छ ।
यता, नबिल बैंक पनि कर्मचारी खुसी पार्न अगाडि नै देखिएको छ । बैंकले ९ महिनामा कर्मचारी तलबका लागि ३ अर्ब १ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ । त्यसको २४.४४ प्रतिशत ( ७३ करोड ७१ लाख ७० हाजर रुपैयाँ ) बोनसका लागि छुट्याएको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि तलबको २३.९९ प्रतिशत बोनस छुट्याएको छ । समिक्षा अवधिमा बैंकले आफ्ना कर्मचारीका लागि २ अर्ब १७ करोड ३ लाख रुपैयाँ तलब र ५२ करोड ६ लाख रुपैयाँ बोनस व्यवस्था गरेको छ । समिक्षा अवधिमा एनएमबि बैंकले पनि तलब (१ अर्ब ६३ करोड २८ लाख रुपैयाँ) को २१.६२ प्रतिशत बोनस छुट्याएको छ। यी बाहेकका अन्य बैंकहरुले पनि २० प्रतिशतभन्दा कम बोनस दिने भएका छन् ।
आफ्ना कर्मचारीलाई ९ महिनामा २ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ तलब खर्चिएको ग्लोलब आइएमईले भने बोनसका लागि १७.४७ प्रतिशत छुट्याएको छ । समिक्षा अवधिमा सिटिजन बैंकले तलब खर्चको १६.८५ प्रतिशत, हिमालयनले १६.७९ प्रतिशत, नेपाल एसबिआईले १६.३८ प्रतिशत, सिद्धार्थले १३.९४, प्रभुले १३.१६, राष्ट्रिय वाणिज्यले १२.२४, एनआइसी एशियाले ११.५३ र कृषि विकास बैंकले ११.४८ प्रतिशत बोनसका लागि छुट्याएका छन् । यी बाहेकका चार बैंकहरुले भने कर्मचारी बोनसका लागि १० प्रतिशतभन्दा कम रकम व्यवस्था गरेका छन् ।
लक्ष्मी सनराइजले कर्मचारी कुल खर्चको ९.९४ प्रतिशत, माछापुच्छ्रेले ९.८४ प्रतिशत, कुमारीले ८.४२ प्रतिशत र नेपाल बैंकले भने २.४७ प्रतिशत मात्रै कर्मचारी बोनसका लागि छुट्याएका छन् ।
















