८ श्रावण २०८३, शुक्रबार

५५ प्रतिशत बढ्यो निर्जीवन बीमा कम्पनीको नाफा, नेपाल र हिमालयन एभरेष्टले कमाए सर्वाधिक



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको नाफा ५५ प्रतिशत बढेको छ । एक वर्षको अवधिमा कम्पनीहरुले नाफा २ अर्ब बढाएका हुन् । कम्पनीहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीहरुले ५ अर्ब ६५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीहरुको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ५५.०६ प्रतिशत धेरै हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीहरुले कुल ३ अर्ब ६४ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका थिए ।

कम्पनीहरुको व्यापारमा आएको सुधारले नै नाफा बढेको हो । गत वर्षको तुलनामा कम्पनीहरुले आफ्नो व्यापार पनि बढाएका छन् । उनीहरुको आम्दानीमा पनि बढोत्तरी देखिएको छ । जसले खुद नाफा बढ्न टेवा पुगेको हो ।

हाल संचालनमा रहेका मध्ये २ वटा बाहेकका १२ वटा निर्जीवन बीमा कम्पनीहरुको नाफामा सुधार छ । समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्स नाफा घटेको छ । चैत मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनीको नाफा २४.७७ प्रतिशत घटेर ५१ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । यता, नेको इन्स्योरेन्सको नाफा पनि सामान्य (१.६८ प्रतिशत) घटेर ३७ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्षको तेस्रो त्रैमासमा नोक्सानीमा रहेको नेशनल इन्स्योरेन्सले भने नाफामा छलाङ मारेको छ । समिक्षा अवधिमा कम्पनीले १४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले २ करोड १९ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेको पहिलो सूचीमा नेपाल इन्स्योरेन्स छ । तेस्रो त्रैमासमा कम्पनीको नाफा शतप्रतिशत बढेर ६१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । दोस्रो सूचीमा रहेको हिमालयन एभरेष्टको पनि १६२.८६ प्रतिशत बढेर ६० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, समिक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा पनि १०९.८६ प्रतिशत बढेर ५९ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । यता, सगरमाथा लुम्बिनी (सलिको) को नाफा पनि ५५.३२ प्रतिशत बढेर ४७ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा प्रभु इन्स्योरेन्सको नाफा सर्वाधिक वृद्धि अर्थात् २३७.१७ प्रतिशत बढेको छ । कम्पनीले ९ महिनामा ३९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यता, आइजीआई प्रुडेन्सियलको नाफा पनि १८१.०३ प्रतिशत बढेर ४६ करोड ७६ लाख रुपैयाँ कायम भएको छ।

त्यसैगरि समिक्षा अवधिमा शिखर इन्स्योरेन्सले ३९ करोड २ लाख, युनाईटेड अजोडले २७ करोड ४२ लाख र एनएलजी इन्स्योरेन्सले १३ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कसको नाफा कति ?

स्रोतः सम्वन्धित कम्पनीद्वारा प्रकाशित तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्