कहाँ-कहाँ कति छ नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्सको लगानी ?
काठमाडौं । हाल संचालनमा रहेका दुई निर्जीवन बीमा कम्पनीहरुले अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा लगानी दोहोरो अंकले बढाएका छन् । एक वर्षको अवधिमा नेपाल पुनर्बीमा र हिमालय रिइन्स्योरेन्स कम्पनीले विभिन्न क्षेत्रमा साढे ७ अर्ब लगानी थपेका हुन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक विवरणले यस्तो देखाएको हो । साउनदेखि चैत मसान्तसम्ममा यी दुई कम्पनीले विभिन्न क्षेत्रमा ३७ अर्ब २० करोड ८३ लाख रुपैयाँ लगानी गरेका हुन् । यो गत आवको तेस्रो त्रैमासको तुलनामा भने ७ अर्ब ४२ करोड ९३ लाख रुपैयाँ बढी हो । गत आवको चैत मसान्तसम्म आइपुग्दा कम्पनीहरुले २९ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ लगानी गरेका थिए । समिक्षा अवधिमा नेपाल पुनर्बीमाको कुल लगानी २० अर्ब ६२ करोड ६२ लाख र हिमालयन रिको १६ अर्ब ५८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
नेपालका पुनर्बीमा बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् ।
कम्पनीहरुको सबैभन्दा धेरै लगानी बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ । समिक्ष अवधिमा नेपाल पुनर्बीमाले वाणिज्य बैंकको मुद्दति निक्षेपमा १५ अर्ब ३१ करोड १० लाख र हिमालय रिले १३ अर्ब ७३ करोड ३१ लाख रुपैयाँ गरि कुल २९ अर्ब ४ करोड ४१ लाख रुपैयाँ लगानी गरेका छन् ।
यता, ख वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप भने नेपाल रिको मात्रै १ अर्ब ९३ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । यी दुई कम्पनीले सेयर बजारमा पिन १ अर्ब ४८ करोड ६० लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल रिको ५८ अर्ब ८९ करोड र हिमालयन रिको ८९ करोड ७० लाख रुपैयाँ सेयर बजारमा लगानी रहेको देखिएको छ। यी दुई कम्पनीको बैंक तथा वित्तीय कम्पनीको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा क्रमशः १ अर्ब ८२ करोड ६३ लाख र १ अर्ब ३३ करोड २१ लाख गरि कुल ३ अर्ब १५ करोड ८५ लाख रुपैयाँ छ ।
कम्पनीहरुले घरजग्गा, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्र, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायत वीकरणीय उर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने लगानी नगरेको पाइएको छ ।यस्तै, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा पनि शून्य लगानी देखिएको छ । तर, नगारिक लगानी कोष र म्युचअल फन्डमा नेपाल पुनर्बीमाको ५ करोड ९ लाख र हिमालयन रिको ४ करोड लगानी छ ।
सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको सेयरमा भने नेपाल रिको मात्रै ५० करोड ७२ लाख लगानी छ । अन्य सस्थापक सेयरमा पनि नेपाल रिको १० करोड २६ लाख र हिमालयन रिको ५७ करोड ९७ लाख रुपैयाँ लगानी रहेको छ ।













