प्राधिकरणको आँकडामा नेपाली बीमा क्षेत्र, यसरी बढाउँदैछन् कम्पनीहरुले व्यवसाय र रोजगारी
काठमाडौं । आर्थिक शिथिलताले संकुचित बीमा व्यावसायमा विस्तारै सुधार देखिन थालेको छ । पछिल्लो समय आर्थिक गतिविधि बढ्न थालेसँगै बीमा व्यापारमा पनि बढोत्तरी देखिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीहरुको व्यापार ५.२७ प्रतिशत वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्ममा बीमा कम्पनीहरुले १ खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ७ अर्ब ७३ करोड ८ लाख रुपैयँ बढेर १ खर्ब ५४ अर्ब ५३ करोड २ लाख रुपैयाँ कायम भएको छ ।
व्यवसाय विस्तारमा निर्जीवन बीमा कम्पनीभन्दा जीवन बीमा कम्पनीहरु अगाडि देखिएका छन् । प्राधिकरणको तथ्याङ्अनुसार जीवन बीमा व्यवसाय वृद्धिदर ६.४४ प्रतिशत छ । तर, निर्जीवन बीमा वृद्धिदर भने झिनो १.१६ प्रतिशत मात्रै देखिएको छ ।
समिक्षा अवधिमा नयाँ तथा पुरानो व्यापार दुबै बढेसँगै जीवन बीमा कम्पनीको कुल व्यवसाय वृद्धि भएको हो । बैशाखसम्म ठुला तथा लघुजीवन बीमा कम्पनीहरुले १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
१० महिनामा कम्पनीहरुले १ करोड ३९ लाख ५४ हजार ५७१ वटा बीमालेख बिक्री गरेका छन् । योमध्ये नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन भने २४ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ र नविकरण मार्फत ९७ अर्ब १२ करोड ५८ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । हाल १४ वटा जीवन बीमा कम्पनी छन् भने तीन वटा लघ जीवन बीमा कम्पनी संचालनमा छन् ।
समिक्षा अवधिमा जीवन बीमा कम्पनीको नयाँ व्यवसाय ४.३२ प्रतिशत र पुरानो व्यापार ६.९९ प्रतिशत वृद्धि भएको छ । यस्तै, समिक्षा अवधिमा तीन लघु जीवन बीमा कम्पनीले १० करोड १९ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
यता, निर्जीवन बीमा व्यापारमा पनि सामान्य सुधार देखिएको छ । गत वर्षको १० महिनामा कम्पनीहरुले २३ लाख ५० हजषर ६५२ वटा बीमालेख बिक्री गरि कुल ३२ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क उठाएका थिए । तर, यो वर्षको सोही अवधिमा भने १.१६ प्रतिशत बढेर ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हाल १४ वटा ठुला र ४ वटा लघु गरि कुल १८ वटा निर्जीवन बीमा कम्पनी संचालनमा छन् । १० महिनामा २४ लाख ७८ हजार ७२७ वटा बीमालेख बिक्री गरेका छन् । यता, संचालनमा रहेका चार वटा लघुबीमा निर्जीवन बीमा कम्पनीहरुले १९ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । विस्तारै आर्थिक गतिविधि चलायमान हुँदै गएकाले आगामी दिनमा व्यवसाय थप बढ्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
रोजगारी बढाउँदै बीमा क्षेत्र, एक वर्षमा थपिए ३७२ कर्मचारी
व्यापार बढेसँगै बीमा क्षेत्रले रोजगारी पनि वृद्धि गरेको छ । आर्थिक संकट र मर्जरका कारण बीमा कम्पनीहरुमा कर्मचारीहरुको संख्या घट्दै गएको थियो । यता, कार्यालय संख्या पनि घटेको थियो । तर, पछिल्लो समय कम्पनीहरुको व्यापारसँगै कर्मचारी र कार्यालयको संख्यामा पनि धमाधम थपिँदै गएका छन् ।
एक वर्षमा ३७२ जना जना कर्मचारी बीमा क्षेत्रमा थपिएका छन् । प्राधिकरणका अनुसार गत वर्षको बैशाख मसान्तसम्ममा यस क्षेत्रमा ११ हजार २८६ जना कर्मचारी दिए । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने ३.३० प्रतिशत बढेर ११ हजार ६५८ पुगेको छ । प्राधिकरणका अनुसार हाल जीवन बीमा कम्पनीहरुमा ५ हजार ८३८ र निर्जीवन बीमा कम्पनीमा ५ हजार ८२० जना कर्मचारी आवद्ध छन् ।
यस्तै, पछिल्लो समय बीमा कम्पनीहरुको कार्यालय पनि धमाधम थपिएका छन् । हाल देशभर बीमा कम्पनीहरुको २ हजार ९५३ वटा कार्यालयहरु छन् । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीले १ हजार ८३१ र निर्जीवन बीमा कम्पनीले १ हजार १२२ वटा कार्यालय मार्फत सेवा विस्तार गरिरहेका छन् ।
फराकिलो बन्दै बीमाको दायरा
व्यवसायसँगै बीमाको दायरा पनि फराकिलो बन्दै गएको छ । हाल ४३.५६ प्रतिशत नेपालीमा बीमाको पहुच पुगेको देखिन्छ । यो म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखको सहितको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले वि.स. २०७८ सालको जनगणनाको प्रतिवेदनमा प्रकाशित जनसंख्याको वृद्धि प्रतिशतका आधारमा बैशाख महिनासम्मको जनसंख्या प्रक्षेपण गरि बीमाको दायार गणना गरिएको प्राधिकरणले जनाएको छ । यस्तै, लघुबीमा जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीको विवरण समावेस गरि गणना गरिएको जनाएको छ ।
संस्थागत तथा संरचनागत सुधारका कारण पनि बीमाको पहुँच बढेको प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा स्थानीय तहसंगको समन्वयमा बीमाको दायरा फराकिलो बनाउन विभिन्न जनचेतना अभिवृद्धि कार्यक्रम गर्दै आएको छ । यसका साथै बीमा पहुँच बढाउने अभियानलाई समेत तिव्रता दिएको छ ।
यस्तै, न्युन आय भएका वर्गलाई बीमाको दायरामा ल्याउने उदेश्य अनुरुप बीमा सम्वन्धी जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ । यसले सर्वसाधारणमा बीमाप्रति चेतना जगाएको छ ।













