८ श्रावण २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा गएका नेपालीको २० लाख ७० हजार बीमालेख सक्रिय, साढे २ अर्ब प्रिमियम कलेक्सन 



काठमाडौं । वैदेशिक रोजगार बीमा मार्फत १० महिनामा साढे २ अर्ब बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

१० महिनामा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले वैदेशिक रोजगार बीमा मार्फत २ अर्ब ५८ करोड १० लाख ६० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीका कामदारको २० लाख ७० हजार २६२ वटा बीमालेख सक्रिय देखिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो। पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । बैशाख महिनामा मात्रै कम्पनीहरुले २९ करोड ७१ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत उठाएका छन् । सो महिनामा ७१ हजार ७३ वटा बीमालेख सक्रिय देखिएको छ ।

हाल नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी नेपाल, मेट लाइफ, सुर्याज्योति लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन् ।

बैशाख मसान्तसम्म आइपुग्दा वैदेशिक रोजगार बीमाको दायित्व अर्थात् बीमाङ्क रकम भने ७१ अर्ब २० करोड १० लाख रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै वैदेशिक बीमा व्यापार सन नेपाल लाइफले गरेको छ । १० महिनामा सन नेपालले ६४ करोड ७३ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हाल कम्पनीमा ७ लाख २ हजार ८१० वटा वैदेशिक रोजगार बीमालेख सक्रिय छ । यता, नेपाल लाइफले पनि १० महिनामा ४ लाख ५८ हजार ८ वटा बीमालेख बिक्री गरि कुल ५४ करोड १६ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ ।

यस्तै, आइएमई लाइफले पनि ३० करोड ५९ लाख रुपैयाँ, एशियन लाइफले २५ करोड १ लाख, नेशनल लाइफले २३ करोड १२ लाख, सूर्यज्योतिले १८ करोड ८० लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत संकलन गरेका छन् । हाल यी कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ लाख ८५ हजार २२०, ६६ हजार ८२५, ८७ हजार ४९९, २ लाख ७२ हजार ६७६ छ ।

त्यसैगरि सानिमा रिलायन्स लाइफले पनि वैशाख मसान्तसम्ममा कुल १७ करोड २८ लाख, रिलायवल नेपालले १५ करोड ५५ लाख, सिटिजन लाइफले ८ करोड ६५ लाख र प्रभु महालक्ष्मीले १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्