८ श्रावण २०८३, शुक्रबार

निर्जीवन बीमा कम्पनीलाई मोटर र सम्पत्ति बीमाकै भरथेग, व्यवसाय अझै पनि बागमती केन्द्रित



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर सम्पत्ति बीमाले आधा हिस्सा आगटेका छन् । कुल निर्जीवन बीमा शुल्क आर्जनमा मोटर र सम्पत्तिको हिस्सा ५५.१८ प्रतिशत बढी छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । १० महिनामा ठुला तथा लघुबीमा निर्जीवन बीमा कम्पनीहरुले कुल ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा कम्पनीहरुले कुल २३ लाख ७८ हजार ७२७ वटा बीमालेख बिक्री गरेका छन् ।

कुल व्यवसायमा मोटर बीमाको हिस्सा ३०.५१ प्रतिशत छ । १० महिनामा कम्पनीहरुले १४ लाख १७ हजार ९०६ वटा मोटर बीमालेख बिक्री गरेका छन् । सो अवधिमा कम्पनीहरुले १० अर्ब ९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, दोस्रो ठुलो हिस्सा रहेको सम्पत्ति बीमा मार्फत १० महिनामा ८ अर्ब १६करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कुल व्यवसायमा २४.६७ प्रतिशत हिस्सा रहेको सम्पत्ति बीमा अन्तर्गत ४ लाख १६ हजार ७९२ वटा बीमालेख बिक्री भएका छन् ।

यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको हिस्सा १६.७४ प्रतिशत छ । बैशाख मसान्तसम्ममा कम्पनीहरुले यस्तो बीमा मार्फत ५ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो अवधिमा इन्जिनियरिङ बीमालेख बिक्री भने २४ हजार ५२७ वटा देखिएको छ ।

यस्तै, विविध बीमाको हिस्सा ११.०२ प्रतिशत, हवाई बीमाको ६.३८ प्रतिशत, कृषि तथा बाली बीमाको ५.०९ प्रतिशत, सामून्द्रिक बीमाको ४.९२ प्रतिशत र लघुबीमाको ०.६३ प्रतिशत हिस्सा छ ।

कुनको हिस्सा कति ?

निर्जीवन बीमा व्यवसायमा बागमती केन्दित्र, कुन प्रदेशको हिस्सा कति ?

निर्जीवन बीमा व्यवसायमा बागमती प्रदेशको हिस्सा सर्वाधिक छ । कुल व्यवसायमा बागमती प्रदेशले ६५.४८ प्रतिशत ओगटेको छ । चालु आवको १० महिनामा बागमती प्रदेशबाट कुल २१ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । कम्पनीहरुले बागमती १० लाख ६२ हजार ९६७ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् ।

यता, लुम्बिनी प्रदेशको हिस्सा ९.१० प्रतिशत मात्रै छ । बैशाखसम्ममा लुम्बिनीबाट ३ अर्ब १० करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

यस्तै, कोशी प्रदेशको हिस्सा ८.८५ प्रतिशत, मधेशको ६.६० प्रतिशत र गण्डकीको ५.४६ प्रतिशत रहेको छ । यी प्रदेशबाट १० महिनामा क्रमशः २ अर्ब ९२ करोड ८३ लाख, २ अर्ब १८ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

त्यसैगरि सुदुरपश्चि प्रदेशबाट ८६ करोड ८५ लाख र कर्णालीबाट ६१ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएका छन् । निर्जीवन बीमा व्यवसायमा सुदुरपश्चिम र कर्णालीको हिस्सा २.६२ प्रतिशत र १.८६ प्रतिशत छ ।


प्रतिक्रिया दिनुहोस्