८ श्रावण २०८३, शुक्रबार

बीमा कम्पनीहरु सुगम क्षेत्रमै बढी आकर्षित, व्यवसायको आधा हिस्सा बागमतीमै सिमित



काठमाडौं । बीमा कम्पनीहरु आफ्नो आफ्नो व्यवसाय सुगम क्षेत्रमै केन्द्रित गरेका छन् । बीमा कम्पनीहरु ग्रामिण क्षेत्रमा नभई सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका छन् ।

नियामक निकायले ग्रामिण स्तरमा पुगि व्यवसाय संचालन गर्न निर्देशन दिए पनि आधा हिस्सा सहरी क्षेत्रमै केन्द्रित देखिएको छ ।नेपाल बीमा प्राधिकरणका अनुसार कुल व्यवसायको आधा हिस्सा बागमती प्रदेशमै सिमित छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म आइपुग्दा बीमा कम्पनीहरुको कुल व्यवसायको ४८.७२ प्रतिशत बागमतीमै सिमित भएको हो । समिक्षा अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ७० अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यसमध्ये ८२ अर्ब ९७ करोड ५३ लाख १९ हजार रुपैयाँ बागमती प्रदेश मार्फत उठेको छ ।

यद्यपि, गत आवको सोही अवधिको तुलनामा भने बागमतीको हिस्सा सामान्य घटेको देखिन्छ । गतको सोही अवधिमा यस प्रदेशको हिस्सा ४९.८६ प्रतिशत रहेको थियो ।

प्राधिकरणले सहरी क्षेत्रमा मात्र केन्द्रित नभई गाउँ गाउँमा पुगेर बीमा व्यवसाय गर्न निर्देशन दिँदै आएको छ । पछिल्लो समय बीमा कम्पनीहरुले पनि सातै प्रदेशका विभिन्न जिल्ला जिल्लामा पनि शाखा विस्तार गरि व्यवसाय थालनी गरेका छन् । तर, ग्रामिण क्षेत्रबाट अपेक्षित रुपमा व्यवसाय भित्र्याउन नसकेको देखिन्छ ।

समिक्षा अवधिमा कर्णाली प्रदेशको हिस्सा झन घटेको पाइएको छ । गत आवको जेठ मसान्तसम्ममा कुल व्यवसायको ३.४ प्रतिशत हिस्सा कर्णालीको थियो । तर, चालु आवको सोही अवधिमा भने ०.९ प्रतिशत घटेर २.५० प्रतिशत कायम भएको छ । ११ महिनामा कर्णाली प्रदेशबाट बीमा कम्पनीहरुले ४ अर्ब २५ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, गण्डकी र मधेश प्रदेशको हिस्सा पनि सामान्य घटेको छ । कुल बीमा व्यवसायमा यी दुई प्रदेशको हिस्सा क्रमशः ९.१८ प्रतिशत र ८.५२ प्रतिशत छ । गण्डकी र मधेश मार्फत बीमा कम्पनीले क्रमशः १५ अर्ब ६३ करोड ७९ लाख र १३ अर्ब ५१ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बागमती प्रदेशमा संघीय राजधानी काठमाडौं पर्दछ, जसको जनघनत्व बढी छ । साथै, यहाँ आर्थिक गतिविधि पनि बढी हुन्छन् । त्यसैले बीमा कम्पनीहरु अन्य प्रदेशको तुलनामा यही प्रदेशमा केन्द्रीत भएर काम गर्दै आएका छन् । त्यसैले बागमतीमा बीमाको व्यवसाय बढी देखिएको प्राधिकरणका अधिकारी बताउँछन् । प्राधिकराणले बीमा कम्पनीहरुलाई स्थानीय तहसँग नियमित रूपमा सम्पर्कमा रही ग्रामिणमुखी व्यवसाय बढाउन आग्रह गर्दै आएको छ। विशेषगरि ग्रामीण क्षेत्रका बासिन्दाका घर–घरमा पुगेर बीमा व्यवसाय (सेवा) गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

कुल व्यवसायमा ७८.५३ प्रतिशत हिस्सा जीवन बीमा कम्पनीहरुको देखिएको छ । ११ महिनामा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, निर्जीवन बीमा कम्पनीहरुको योगदान २१.४७ प्रतिशत छ ।

समिक्षा अवधिमा कोशी प्रदेशको योगदान ११.४५ प्रतिशत छ । ११ महिनामा कोशी मार्फत कम्पनीहरुले १९ अर्ब ५०क रोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, सुदुरपश्चिमबाट ९ अर्ब ३ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।यो कुल व्यवसायमा ५.३१ प्रतिशत हुन् आउँछ ।


प्रतिक्रिया दिनुहोस्