सञ्चालक समितिमा एकाएक किन आयो सीईओ बर्खास्त गर्ने प्रस्ताव ?
काठमाडौँ । ‘भीष्म पितामह’ जसले हस्तिानापुरको विभाजन गराइदिएर पुरा महाभारत युद्धको बिऊ रोपिएको थियो । एकातिर राजगद्दीको सेवा गर्ने प्रतीज्ञा र अर्कातिर नाती–पनातीको मोहबीच उनले आफ्नो स्वार्थ साँध्न राज्य विभाजन गराए ।
यसरी मध्यस्तकर्ताको स्वर्थ साँध्न खोज्दा कयौँ पीडादायी घटना भएका इतिहास हाम्रो समाजमा प्रसस्त पाइन्छन् । झण्डैझण्डै यस्तै प्रकारको घटना हिमालयन एभरेस्ट इन्स्योरेन्समा भएको छ ।
एक जना ‘वयोबृद्ध’ कर्मचारीको उक्साहटमा ठीकठाकै चलेको बीमा कम्पनी ‘शिकार’ बनेको आरोप लागेको छ । यस घटनाले निम्त्यिाउने कयौँ नकारात्मक परिणामहरु भने दशौँ हजार सेयर धनि र सयौँ कर्मचारीले भोग्नुपर्ने संभावना रहेको कम्पनी स्रोतको दाबी छ ।
अकस्मात् कसरी विग्रीयो सम्बन्ध ?
दुई साताअघि अमेरिका उढ्दा हिमालयन एभरेस्ट इन्योरेन्सका तत्कालिन प्रमुख कार्यकारी अघिकृत (सिईओ) विजयबहादुर शाहलाई निश्चिन्त थिए । सञ्चालक समितिमा उनको प्रशंशा नै भइरहेको थियो ।
सीईओ शाहले अमेरीका उड्नुभन्दा १५ दिन अघि कम्पनीको सञ्चालक समिति अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठसँग भेटेका थिए । तर शाह अमेरिका उडेपछि नेपालमा हावाको दिसा मोडियो र मौसम फेरियो ।
उनी अमेरीकाहुँदाकै बखत अध्यक्ष श्रेष्ठले एकाएक सञ्चालक समितिमा सिईओ बर्खास्त गर्ने प्रस्ताव लगे । ‘सिईओ नभएका बेला केही कर्मचारीले सिईओ विरुद्ध अध्यक्षलाई भए–नभएका कुरा लगाएका कारण’ शाहलाई त्यस बेला बर्खास्त गर्न खोजिएको एक बरिष्ठ कर्मचारी बताउँछन् ।
स्रोतका अनुसार यसरी सञ्चालक समितिलाई व्यवस्थापनको नेतृत्व विरुद्ध भड्काउने काममा मुख्य भूमिका रमान्जुलु नायडुको रहेको बताइन्छ ।
उनी अहिले कम्पनीमा चिफ टेक्निकल अफिसर (सीटीओ) छन् । उमेरले ७२ वर्ष पुग्न थालेका उनी हरेक साल करार अवधि थप्दै कम्पनीमा कार्यकाल लम्ब्याइरहेका छन् ।
प्राविधिक धारको व्यक्ति भएकाले उनको औपचारिक शिक्षा भने निकै तल छ । अर्थपथलाई प्राप्त जानकारी अनुसार नायडु एसएलसीसम्म मात्र पढेका व्यक्ति हुन् । तर उनी यति ‘स्मार्ट’ देखिए की, निर्जीवन बीमकहरुको अन्तरराष्ट्रिय सञ्जाललाई नेतृत्व गर्ने शाहलाई नै पदबाट हटाउन सफल भए ।
किनकी, आर. नायडुको कार्यकाल अझै लम्ब्याएर उनलाई बुढेशकालमा कामको बोझ थोपर्नु हुन्न भन्ने पक्षमा थिए, तत्कालिन सीईओ शाह ।
यसै कारण कुनै पनि उच्च पदस्थ कर्मचारीको कार्यकाल थप्नु परे एक महिनाअघि नै त्यस्तो निर्णय गरेर बीमा प्राधिकरणलाई जानकारी दिनुपर्ने प्रावधान छ । शाहले यो काम गरेनन् । नायडु हट्ने भए ।
नायडुको कारण अध्यक्ष श्रेष्ठ सिईओसँग असन्तुष्ट बनेको आरोप एक खेमाले लगाइरहेको छ । एसएलसी मात्र पास गरेका नायडुले अध्यक्षको आडमा विभागीय प्रमुखहरुलाई नियन्त्रणमा राख्दै आएको पनि उनीहरुको आरोप छ ।
अहिले पनि नायडुले अण्डराइटीङ, पुनर्बीमा र मार्केटिङजस्ता बीमाको महत्वपुर्ण विभागको नेतृत्व गरिरहेका छन् । यसरी सीईओ र अध्यक्षबीचको सुमधुर सम्बन्ध एकाएक ‘तीतो–टर्रो’ बन्नुमा नायडुको ‘उक्साहट’ मुख्य कारण हुनसक्ने अनुमान शाह पक्षको छ ।
अध्यक्षको पुत्रमोह
कम्पनीको प्रायः संचालक समिति बैठक अध्यक्षको घर ललितपुरको जावलाखेलमा बस्ने गरेको छ । अध्यक्ष श्रेष्ठले हरेक संचालक समितिको बैठकमा संचालक नरहेका मनिषकृष्ण श्रेष्ठलाई राख्ने गरेका छन् ।
संचालक समितिको बैठकमा अध्यक्षका छोराको यस्तो हस्तक्षेपलाई लिएर अन्य संचालकले समेत विरोध जनाउँदै आएका छन् । तर आँट गरेर बोल्न कोही तयार छैन । बरु अन्य सञ्चालक कमजोर हुँदा हरेक निर्णयमा अध्यक्षको छोरा हावी हुँदै आएका छन् ।
अध्यक्षको छोरा मनिष भारतमा सूचना प्रविधि (आइटी) कम्पनीमा काम गर्दै आएका छन् । उनी वर्षमा आधा समय नेपाल र आधा समय भारतमा बस्छन् ।
यो होइन प्रालि.
स्थापनादेखी नै अध्यक्ष श्रेष्ठको निजी कम्पनीझैँ नियन्त्रणमा रहेकाले तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सले कुनै पर्फर्मेन्स गर्न नसकेको पुराना कर्मचारीहरुको आरोप छ । हुन पनि, कम्पनी स्थापनादेखी उनी नै प्रबन्ध निर्देशक (एमडी)को रुपमा काम गर्दै आएका छन् ।
श्रेष्ठको पारिवारिक नियन्त्रणमा रहेको हिमालयन जनरल इन्स्योरेन्समा राजेन्द्र खेतानले नेतृत्व गरेको कम्पनी एभरेष्ट इन्स्योरेन्स मर्ज हुँदा पनि यो कम्पनी श्रेष्ठको नियन्त्रण (ग्रिप)बाट बाहिर आउन सकेको छैन ।
मर्जपछि तत्कालिन एभरेष्ट इन्स्योरेन्सको तर्फबाट संचालक समितिमा रहेका हेमराज थापा, अभिलाषा पन्त र स्वतन्त्र संचालक विजय पन्त सञ्चालक समितिमा पुगे । तर उनीहरुले श्रेष्ठको पारिवारिक नियन्त्रणबाट यो कम्पनीलाई बाहिर ल्याउनै सकेनन् ।
सीईओको उजुरी
तत्कालिन सीईओ शाहले आफूलाई बीमाको संस्थागत सुशासन निर्देशिका र ऐन विपरित बर्खास्त गरेको आरोप लगाएका छन् । उनले कम्पनीसँग भएको करारनामा र करार कानून विपरित आफूलाई बर्खास्त गरेको भन्दै नेपाल बीमा प्राधिकरणमा उजुरी दिएका छन् ।
बीमा प्राधिकरणले सिईओ र अध्यक्ष दुबैलाई बोलाएर छुट्टाछुट्टै छलफल गरेपनि अहिलेसम्म केही निकास निकाल्न सकेको छैन ।
कर्पोरेट सेक्टरमा आफ्ना सीमित स्वर्थ पूर्ति नहुने वित्तिकै सिईओ बर्खास्त गर्नुलाई संस्थागत सुशासन र विद्यमान कानूनको ‘धज्जी उडाइएको’ रुपमा शाहले लिएका छन् ।
उनले सर्वसाधारणको लगानी सुरक्षाप्रति पनि नियामक प्राधिकरणको ध्यान नपुग्नु दुर्भाग्यपुर्ण रहेको उनले बताए । यो विवाद लम्बिएमा श्रमजीवी वर्गको चासोलाई न्याय गर्न ढिलाइ हुने भन्दै उनले नियामकको ढोका ढकढक्याएका हुन् ।













