११ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री दाहालले अहिले ‘संसद फेस’ गर्ने, कोको बन्दैछन् नयाँ मन्त्री ?



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । यसका निम्ति शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सम्झौता भएसँगै दाहालले विस्वासको मत लिन खोजेका हुन् । यससँगै दाहाल प्रधानमन्त्रीको कुर्सीबाट बाहिरिने पक्का भएको छ । नयाँ गठबन्धनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी गरिसेकेको छ ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिन लागेका हुन् ।

प्रतिनिधिसभामा बहुमत सिद्ध गर्नका लागि दाहालले १३८ मत जुटाउनु पर्ने हुन्छ । तर ठूला दलको सहायता बिना यो सम्भव छैन । दाहालसँग अहिले आफ्नै पार्टी माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र एकीकृत समाजवादीको १० गरी जम्मा ६३ मत छ । यो २७५ सदस्यीय प्रतिनिधि सभामा २३ प्रतिशतभन्दा पनि कम हो । यस कारण उनले विस्वासको मत नपाउने सुनिश्चित भएको हो ।

सदनले विस्वासको मत नदिएसँगै उनी पदमुक्त हुने छन् । त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुने छ । कांग्रेस, एमाले लगायत दलले नयाँ सरकार गठनका लागि आजै (शुक्रबार नै) राष्ट्रपति समक्ष दाबी पेश गर्ने तयारी गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा मत विभाजन नगरी राजीनामा दिन सुझाव दिएका छन् । मत विभाजन भए परिणाम आउनासाथै दुई तिहाई सांसदको हस्ताक्षरसहित शीतल निवास जाने तयारीमा ठूला दल लागेका छन् ।

कांग्रेस र एमालेबीच १७ असारको मध्येराती नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । हालसम्मको अंक गणितले प्रचण्डसँग ६३ मत देखिएको छ भने नयाँ गठबन्धनको पक्षमा दुई तिहाईभन्दा बढी मत जुट्ने देखिएको छ ।

संसदमा कांग्रेससँग ८८ र एमालेसँग ७९ मत छ । एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी र सभामुख देवराज घिमिरेलाई छाड्दा पनि यी दुई दलसँग १६५ मत हुन्छ । त्यसमाथि जनता समाजवादी पार्टीको ७, जनमत पार्टीको ६, जसपा नेपालको ५, लोसपा नेपालको ४, नागरिक उन्मुक्ति पार्टीको ४ सीट नया गठबन्धनको पक्षमा देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दाहाललाई प्रधानमन्त्रीमा सहयोग नगर्ने भएको छ ।

प्रधानमन्त्रीले विस्वासको मत नपाउने वित्तिकै नयाँ सरकार गठनको प्रक्रिया थाल्ने भने पनि प्रतीक्षारत प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सपथ लिने कि नलिने भन्ने चाहीँ स्पष्ट भइसकेको छैन । राष्ट्रपतिले ३ दिनको समय दिएर प्रधानमन्त्री दाबी गर्न आह्वान गर्ने र त्यसपछिमात्रै प्रधानमन्त्रीको सपथ लिने एक मत छ भने आजै दुई तिहाई हस्ताक्षेर लगेर तुरुन्तै नयाँ प्रधानमन्त्रीको सपथ गर्ने अर्को प्रयास छ ।

यससँगै मुख्य सत्ता घटक नेपाली कांग्रेसको तर्फबाट पुर्व महामन्त्री प्रकाशमान श्रेष्ठले सरकारमा नेतृत्व गर्ने संभावना छ । श्रेष्ठ र एमालेबाट विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाउने लगभग सहमति जुटेको खबरहरु आएका छन् । एमालेले अर्थमन्त्रीमा विष्णु पौडेललाई पठाउने संभावना बलियो भएको छ ।

कांग्रेसबाट भने सभापति पत्नी आरजु राणा देउवा सम्भवतः परराष्ट्र मन्त्री बनेर सरकारमा जाने संभावना छ । उपप्रधानमन्त्री श्रेष्ठले रक्षा मन्त्रालय पाउन सक्छन् भने रमेश लेखक नयाँ सरकारको गृहमन्त्री बन्ने संभावना बलियो छ । यो गठबन्धन बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका लेखकले सरकारको केन्द्रिय भूमिका निर्वाह गर्ने मौका पाउन सक्छन् ।

ओली नेतृत्वको सरकारमा जनमत पार्टी, जसपा, लोसपा र नाउपा सहभागी हुने पक्का भइसकेको छ । सिके राउत नेतृत्वको जनमत र अशोक राई नेतृत्वको जसपालाई ओली आफैँले सरकारमा सहभागी गराउन चाहेका थिए ।