सरकारले उर्जा क्षेत्रमा लोभलाग्दो उपलब्धी गरेको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले उर्जा क्षेत्रमा लोभलाग्दो उपलब्धी गरेको बताए । उनले अन्तरदेशीय विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम बढेको बताए ।
शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको छ । अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीव्र रूपमा अगाडि बढेको छ ।’
देशले कहालीलाग्दो विद्युतभार कटौतीबाट मुक्ति पाएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । उनले सबै नागरिक विद्युतको पहुँचमा पुगेको बताए । उनले विद्युत् ऊर्जाको जडित क्षमता करिब ३ हजार२०० मेगावाट पुगेको जानकारी गराए । यसका साथै अबको केही महिनामै झन्डै ५०० मेगावाट थप हुने चरणमा रहेको उनले बताए ।
‘जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखेको छ’, प्रचण्डले भने,‘ हालसम्म करिब १० हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता भइसकेको छ । नेपाल अब हरेक वर्ष करिब १००० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन क्षमता वृद्धि हुने अवस्थमा पुगेको छ ।’













