निर्जीवन बीमा: शिखर अगाडी, सलिको र सिद्धार्थ प्रिमियरको प्रतिस्पर्धा, कसको व्यापार कस्तो ?
काठमाडौंं । निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा सवा ४१ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आवमा १४ निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो आवको तुलनामा २.३७ प्रतिशत बढी हो । अघिल्लो आवको साउनदेखि असार मसान्तसम्ममा पनि कम्पनीहरुले ४० अर्ब २१ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
व्यापारमा शिखर इन्स्योरेन्स नै अग्रस्थानमा छ । व्यापारमा अन्य सबै कम्पनीलाई शिखरले उछिनेको छ । शिखर एक वर्षमा ५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा पनि कम्पनीले ५ अर्ब ३१ करोड बढी बीमा शुल्क आर्जन गरेको थियो। कम्पनीले मर्जर बिना नै अन्य कम्पनीलाई टपेको छ । निर्जीवन बीमा व्यापारमा शिखर इन्स्योरेन्सको हिस्सा १३.२८ प्रतिशत छ ।
व्यापारमा दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) छ । कम्पनीले एक वर्षमा ४ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । निर्जीवन बीमा व्यापारमा सलिको हिस्सा ११.६३ प्रतिशत छ । व्यापारमा सलिकोलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पच्छ्याएको देखिन्छ । सिद्धार्थ प्रिमियरले गत वर्ष ४ अर्ब १७ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन आर्जन गरेको छ । यो कुल ब्यापारको १०.१४ प्रतिशत हुन आउँछ । अघिल्लो आवमा पनि सलिको र सिद्धार्थ प्रिमियरले क्रमशः ४ अर्ब ५८ करोड २० लाख र ४ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
धरे व्यापार गर्नेको चौंथो सूचीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । गत आवमा हिमालयन एभरेष्टले ३ अर्ब ७२ करोड २९ लाख बीमा शुल्क आर्जन गरेको छ । पाँचौं स्थानमा रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यता, छैठौं स्थानमा रहेको नेको इन्स्योरेन्सले पनि ३ अर्ब १४ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
गत आवमा युनाईटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड ७३ लाख, सानिमा जिआइसीले २ अर्ब ६१ करोड ८५ लाख, दि ओरियण्टलले २ अर्ब १६ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
यस्तै, प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स १ अर्ब ५९ करोड ४ लाख, राष्ट्रिय बीमा कम्पनील १ अर्ब ५८ करोड ९९ लाख र नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोठ ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।













