१० प्रतिशत कम ब्याजदरमै ऋण दिन सक्ने अवस्थामा सबै बैंकहरु, ६ प्रतिशतसम्म आइपुग्यो ‘वेस रेट’ « Arthapath.com
१३ श्रावण २०८१, आईतवार

१० प्रतिशत कम ब्याजदरमै ऋण दिन सक्ने अवस्थामा सबै बैंकहरु, ६ प्रतिशतसम्म आइपुग्यो ‘वेस रेट’



काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर (वेस रेट) ६ प्रतिशतसम्मको बिन्दुमा आइपुगेको छ। साउन महिनामा २० वटै बैंकहरुको आधार दर एकल अंकमा आइपुगेको छ ।

साउनमा महिनाका लागि बैंकहरुको औसत आधार दर ८.११ प्रतिशत कायम भएको छ । यो गत असार महिनाको तुलनामा भने शून्य दशमलव २३ प्रतिशत बिन्दुले घटेको छ । गत असारमा पनि बैंकहरुको औसत आधार दर ८.३४ प्रतिशत रहेको थियो ।

पछिल्लो समय निरन्तर बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकमा थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो ।

हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ६.१३ प्रतिशत बिन्दुमा छ। यस्तै, सरकारी सवामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.०१ प्रतिशत छ । साउनमा पनि अधिकांश बैंकहरुका आधार दर घटेको छ । आधार दरसँगै कर्जाको ब्याजदर समेत सस्तिएको छ । हाल अधिकांश बैंकहरुले एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध गराउन सक्ने अवस्था छन् । २० वटै बैंकले १० प्रतिशत भन्दा कम ब्याजदरमै ग्राहकलाई ऋण दिन सक्नेछन् । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । आधार दर हेरेरै ऋण लिनका लागि ग्राहकले बैंक छनोट गर्न सक्नेछन् ।

साउन महिनाको वेस रेटका आधारमा भने २० वटै बैंकले चाहेको खण्डमा र ग्राहकले बार्गेेनिङ्ग गर्न सकेमा सहजै एकल अंकको ब्याजदरमा कर्जा प्रवाह गर्न सक्नेछन् ।

बैंकहरुको आधार दर अनुसार नै ऋणको ब्याज सस्तो र महँगो हुने संकेत गर्दछ । कम आधार दर भएका बैंकबाट ऋण लिँदा सस्तो ब्याज पर्न जान्छ । यद्यपि, बैंक र कर्जाको प्रकृति अनुसार भने फरक पनि पर्छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।

साउन महिनाको आधार दरका आधारमास्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, एभरेष्ट, नबिल, सानिमा र नेपाल बैंकले सबैभन्दा सस्तो ब्याजमा ऋण दिन सक्ने अवस्थामा छन् ।

वेस रेटकै आधारमा भने तुलनात्मक रुपमा महँगो ब्याज एनआइसी एशिया र हिमालयन बैंकको पर्ने देखिएको छ । हाल यी दुई बैंकको वेस रेट क्रमशः ९.१९ प्रतिशत र ८.९१ प्रतिशत छ । यद्यपि, यी दुवै बैंकहरुले पनि चाहेको खण्डमा भने एकल अंकको ब्याजदरमै ऋण उपलब्ध गराउन सक्नेछन् ।

कुन बैंकको आधार दर कति छ ?


प्रतिक्रिया दिनुहोस्