मौद्रिक नीतिपछि उचालियो सेयर, तोड्ला त यसअघिको रेकर्ड ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

मौद्रिक नीतिपछि उचालियो सेयर, तोड्ला त यसअघिको रेकर्ड ?



काठमाडौं । आज आइतबार नेपाली सेयर बजारमा उछाल आयो । कारोबार खुलेको पहिलो मिनेटमा नै बजारमा सर्किट ब्रेक लाग्यो । नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटसम्म स्थगित भयो । २० मिनेटपछि खुलेको बजारमा पुनः एक मिनेट मै दोस्रो सर्किट ब्रेक लागेको थियो ।

१ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि स्थगित भयो । २ पटक सर्किट ब्रेक लाग्दा जम्मा २ मिनेट मात्र कारोबार भयो । तर यो अवधि ५२ करोड बढीको सेयर किनबेच भयो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको पुग्यो ।

२ पटक सर्किट ब्रेक लागेपछि भने सेलिङ प्रेसर बढेपछि बजार सम्हालियो । १२ बजेर २ मिनेटमा सेयर बजार २७०८ बिन्दु पार गरेर ओरालो लाग्न थाल्यो । १२ बजेर १४ मिनेट जाँदा नेप्से परिसूचक २६२४ बिन्दुमा ओर्लियो । त्यसपछि भने बजार पुन: उकालो लाग्न थाल्यो । उतारचढावका बीच नेप्से परिसूचक ४.४१ प्रतिशत अर्थात् १३३.४२ अंकले बढेर बन्द भयो । नेप्से परिसूचक २६८१.५६ बिन्दुमा बन्द भएको हो ।

ठूला तथा बलिया कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २६.७८ अंकले बढेर ४८६.८४ बिन्दुमा पुगेको छ । यस दिन बैंकिङ समूह (वाणिज्य बैंक) मा ९.८९ प्रतिशत उछाल आयो । लगानी समूह ५.७५ प्रतिशतले बढ्दा विकास बैंक समूहको सेयर मूल्य ४.८७ प्रतिशतले बढेको छ ।

लाइफ इन्स्योरेन्स समूह ४.२४ प्रतिशत, अन्य समूह ३.१९ प्रतिशत, निर्जीवन बीमा समूह २.६८ प्रतिशत, व्यापार समूह २.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.७२ म्युचुअल फण्ड १.३८ प्रतिशत र फाइनान्स समूह १.२९ प्रतिशतले बढेको छ ।

हाइड्रोपावर र होटल एण्ड पर्यटन समूह भने क्रमश: ०.८३ र ०.४६ प्रतिशतले बढेको छ । बजारमा उछाल आउँदा पनि आज माइक्रोफाइनान्स समूह भने ०.१८ प्रतिशतले घटेको छ ।
कारोबार अवधिभर ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँमा किनबेच भयो ।

आइतबार १४८ कम्पनीको सेयर मूल्य बढ्यो भने ८७ कम्पनी घट्यो । ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा अधिकांश बैंक छन् ।

किन देखियो उत्साह ?

नयाँ सत्ता समीकरणमा सरकार बनेपछि नै बढेको लगानीकर्ताको आत्मबललाई मौद्रिक नीतिले झनै उत्साहित बनाएपछि बजारमा उछाल देखिएको हो । सेयर बजारमा यसरी २/२ पटक सर्किट बिरलै लाग्ने लागेको छ । एमाले कांग्रेस लगायत दलबीच सत्ता सहकार्यको सहमति भए यता नै बजार निरन्तर उकालो लागेको छ । यस बीचमा जम्मा ३ पटक मात्र करेक्सन देखिएको छ । नयाँ सरकार गठन भए यता नेप्से ६२८.८१ अंकले बढिसकेको छ । बजार मात्र होइन कारोबार समेत करीब ३४ महिना यताकै उच्च बिन्दुमा पुगेको छ ।

सत्ता समीकरण परिवर्तन र लगानीकर्ताले रुचाएका बिष्णु पौडेल अर्थमन्त्री हुनु मात्र होइन राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि सेयर बजारमा ‘बिग बुल’ संकेत देखिएको लगानीकर्ता तथा बजारका जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसपटक कार्यकालकै उत्कृष्ट र लचिलो मौद्रिक नीति ल्याएका छन् । मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।
यसको अलावा बैंकको ब्याजदर न्यून बिन्दुमा हुनु र अझै घट्ने सम्भावना रहनु, अनुत्पादक क्षेत्र भन्दै सेयर बजारप्रति हेर्ने सरकारको दृष्टिकोण फेरिनु, नीतिगत व्यवस्थामा सुधार हुनु लगायत कारण पनि बजारले बुलको यात्रा तय गरेको लगानीकर्ताहरू बताउँछन् ।

मौद्रिक नीतिले बैंक र लघुवित्तलाई सहजता प्रदान गर्न र नाफामा सकरात्मक प्रभाव पर्ने खालको नीति लिएको कारण लगानीकर्काको मनोबल यस सेक्टरतिर उच्च हुने देखिन्छ। अहिले बजारमा अल्पकालीन लगानीकर्ताको उपस्थिति बाक्लिएको छ । बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुँदा पुराना लगानीकर्ताको मनोबल खस्किएको छ । यस कारण पनि बजार थप मजबुत हुने विश्लेषणहरू बताउँछन् ।

मौद्रिक नीतिले लामो समयदेखि खस्किएको लगानीकर्ताको मनोबल उठाउने काम गरेको छ । अब सेयर बजारले यसअघिको ३२ सय बिन्दुको रेकर्ड पार गर्नेमा लगानीकर्ताहरू विश्वस्त देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस्