वैदेशिक रोजगार बचतपत्र परिचालनको १३ वर्ष: ५ प्रतिशत बिकाउन पनि सकस, प्रवर्द्धनका लागि के गर्ने ? « Arthapath.com
१५ श्रावण २०८१, मंगलवार

वैदेशिक रोजगार बचतपत्र परिचालनको १३ वर्ष: ५ प्रतिशत बिकाउन पनि सकस, प्रवर्द्धनका लागि के गर्ने ?



काठमाडौं । वैदेशिक रोजगार बचतपत्र परिचालनको अवस्था ज्यादै दयनीय देखिएको छ । सरकारले आन्तरिक ऋण उठाउने गरि आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्र निष्कासन सुरु गरेको थियो ।

निष्कासन र व्यवस्थापन सुरु भएदेखि सरकारले अघिल्लो आव २०७९/८० सम्ममा २५ पटक बचत पत्र आव्हान गरेको देखिन्छ । उक्त १३ वर्षको अवधिमा केन्द्रिय बैंकले कुल १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन भएको छ ।

तर, त्यसमा ९५ प्रतिशत धेरै बिक्री नभएको पाइएको छ । १३ वर्षमा आव्हान गरिएको बचतपत्र ४.९० प्रतिशत अर्थात् ७६ करोड २३ लाख रुपैयाँ बिक्री भएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।

आव २०७५/७६ बाहेकका सबै वर्षहरुमा केन्द्रिय बैंकले बचतपत्र बिक्रीका लागि आव्हान गरेको छ । तर, बचतपत्रको परिचालन शुरुका वर्षहरुदेखि नै अपेक्षित रुपमा हुन सकेको छैन । पहिलो वर्ष १ अर्बको बचतपत्र आव्हान थियो । त्यसमध्ये ४० लाख बिक्री भएको थियो ।

दोस्रो वर्ष ५ अर्ब निष्काशन आव्हान भएकोमा ३३ लाख मात्र बिक्री तथ्याङ्क छ । त्यसपछिका अधिकांश वर्षहरुमा बचतपत्रको आव्हान ५० करोड भन्दा कम भएको देखिन्छ । आर्थिक वर्ष २०६६÷६७ देखि २०७९/८० सम्म आव्हान रकमको ४.९ प्रतिशतमात्र बिक्री हुन सकेको छ । निष्काशन भएका सबै वैदेशिक रोजगार बचपत्रहरु ५ वर्ष अवधिको रहेका छन्।

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने सरकारी ऋणपत्रलाई ‘वैदेशिक रोजगार बचतपत्र’ भन्ने गरिन्छ । यस्तो बचतपत्र विदेशबाट र विदेशमा आर्जित रकम वैधानिक माध्यमबाट स्वदेश ल्याएको प्रमाण पेस गरेमा समेत खरिद गर्न सकिन्छ ।

नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्रलाई आकर्षक बनाई बढी भन्दा बढी ऋण परिचालन गर्ने उद्देश्य रहेको छ। यस्तो बचतपत्रको ब्याजदर निर्धारण गर्दा सोही वर्षको बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरको तुलनामा उच्च रहने गरेको छ । प्रतिवेदनअनुसार वैदेशिक रोजगार बचतपत्रको ब्याजदर सोही वर्षको मुद्दति निक्षेपको तुलनामा ०.०१ प्रतिशतदेखि २.४२ प्रतिशतसम्म उच्च रहेको देखिन्छ । तथापि, ब्याजदरको प्रभाव बचतपत्र खरिदमा अपेक्षित रुपमा परेको देखिदैन ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण गरेको छ । प्रतिवेदन तयार पार्दा वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेण्टहरुसँग इमेल सर्वेक्षणमार्फत केन्द्रीय बैंकले बैदेशिक रोजगारपत्र बिक्री नहुनु र गर्नुपर्ने सुधारलाई समेटिएको जनाएको छ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभागमा तथा काठमाडौं बाहिरका झापा–काँकडभिट्टा, वीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली र धनगढी–गौरीफण्टाका नाकाहरुमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षणमा करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका र १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइएको छ । तर, जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद गरेको पाइएको छैन ।

वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको बताएका छन् । प्रतिवेदनमा २७ प्रतिशतले खरिद प्रक्रिया झण्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको उल्लेख छ । त्यसबाहेक बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनु पर्ने कारण उल्लेख गरेका छन्।

यस्तै, वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेण्टका १६ प्रतिनिधिहरुसँग गरिएको इमेल सर्वेक्षण अनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा सोधनी गरेको तर खरिदमा तत्परता नदेखाउने गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, काठमाडौं स्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षण अनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएको र १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको उल्लेख छ।

वैदेशिक रोजगार बचतपत्र प्रवद्र्धनको लागि के गर्ने ?

अध्ययन अनुसार वैदेशिक रोजगार बचतपत्र प्रवद्र्धनको लागि विभिन्न नीतिगत तथा प्रक्रियागत सुधार आवश्यक देखिएको छ । प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता अध्ययनले औल्याएको छ ।

नीतिगत सुधारः

(क) वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुको साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउने ।

(ख) वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले विदेशस्थित विदेशी मुद्राको बैंक खाताबाट समेत खरिद गर्न पाउने व्यवस्था मिलाउने । यद्यपी, कतिपय मुलुकहरुको कानूनले यस्तो बन्देज लगाएको सन्दर्भमा श्रम संझौतामा समावेश गरी लगानी गर्न सक्ने व्यवस्था मिलाउन पहल गर्ने ।

(ग) नेपाल सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचपतत्र छुट्टा छुट्टै निकाल्नु भन्दा एकै प्रकारको बचतपत्रको व्यवस्था गर्ने तर गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीलाई बचतपत्र खरिदमा विनिमयदर मार्फत्सहुलियत दिने ।

(घ) सरकारले बजेट घाटा परिपूर्तिको लागि बचतपत्र निष्काशन गर्ने प्रचलन रहेकोमा आगामी वर्षहरुमा मुलुकको सर्वाधिक महत्वका पूर्वाधार आयोजना लक्षित वित्तीय साधन जुटाउन बचतपत्र निष्काशन गर्ने ।

प्रक्रियागत सुधारः

(क) बचतपत्रको आर्जित ब्याज र परिपक्व भएको साँवा बचतपत्र धनीको बैंक खातामा सोझै उपलब्ध हुने व्यवस्था मिलाउने ।

(ख) बचतपत्रको प्रमाणपत्र तत्काल उपलब्ध हुने वा अनलाइन मार्फत प्राप्त हुने व्यवस्था मिलाउने । (ग) हाल बचतपत्र वर्षको एकपटक छोटो अवधिका लागि मात्र आव्हान हुने गरेकोमा आर्थिक वर्षको शुरुमा निष्काशन गर्ने र आव्हान रकम बिक्री नभएसम्म खुला रहने व्यवस्था मिलाउने ।

प्रचार–प्रसारमा जोड दिनेः

(क) सामाजिक सञ्जालको उपयोग गरी वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसार व्यापक बनाउने ।

(ख) नेपालबाट वैदेशिक रोजगारीका आकर्षक गन्तव्य रहेका मुलुकस्थित नेपालका कुटनीतिक नियोग मार्फत् वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसारमा तीव्रता दिने ।

(ग) रोजगारीमा जाने व्यक्तिलाई श्रम विभाग, वैदेशिक रोजगार कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम डेस्क मार्फत् वैदेशिक रोजगार बचतपत्रको फाइदाका सम्बन्धमा ब्रोसर वा पुस्तिकाका माध्यमबाट जानकारी गराई प्रचारप्रसार गर्ने ।

(घ) रोजगारीमा जाने व्यक्तिको लागि आयोजना गरिने अभिमुखीकरण तालिममा वैदेशिक रोजगार बचतपत्रको जानकारी अनिवार्य बनाउने ।


प्रतिक्रिया दिनुहोस्