आँखुखोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत अर्थात् १:१.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।













