‘हिमालयन रि’को चमत्कारिक वित्तीय प्रगतिः शतप्रतिशत बढ्यो नाफा, बिजनेश ग्रोथ लोभलाग्दो
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफा शतप्रतिशत वृद्धि भएको छ । बुधवार कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत वर्ष कम्पनीको खुद नाफा ९७.६४ प्रतिशत बढेर ि१ अर्ब २८ करोड ३५ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्प्नीले ६४ करोड ९४ लाख २४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन भने ५ अर्ब ४५ करोड ८४ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यो अघिल्लो आवको तुलनामा ८२.७५ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीले २ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
गत वर्ष कम्पनीको खुद दावी भुक्तानी पनि ४७.१९ प्रतिशत बढेर २ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको कुल आम्दानीमा पनि ६७.०९ प्रतिशत बढोत्तरी भई ६ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ कायम भएको छ। कुल खर्च भने ५५.१२ प्रतिशत बढेर ४ अर्ब ४७ करोड ८० लाख रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ३ रुपैयाँ ०६ पैसा बढेर १२ रुपैयाँ ३४ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ २६ पैसा कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड छ । कम्पनीले विशेष जगेडा कोषमा १ अर्ब ९ करोड ७३ लाख र महाविपत्ति कोषमा ११ करोड २० लाख रुपैयाँ राखेको छ ।













