बीमालेख धितोमा झन्डै एक खर्ब लगानी: आम्दानी पनि २४ प्रतिशत वृद्धि, कुन कम्पनीको कति ?
काठमाडौं । बीमालेख धितोमा प्रवाह हुने कर्जा वृद्धि भएको छ। जीवन बीमा कम्पनीहरुले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जा एकै वर्ष साढे ६ अर्ब बढेको छ ।
हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीहरुले गत आवमा कुल ९७ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ बीमितलाई बीमालेख धितोमा कर्जा दिएका छन् । यो अघिल्लो आवको तुलनामा ७.३४ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीहरुले ९१ अर्ब ५ करोड ४० लाख रुपैयाँ धितो कर्जा दिएका थिए ।
बीमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिनसक्ने व्यवस्था छ । बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्ने पनि व्यवस्था रहेको छ । प्राधिकरणले तीन वर्षपछि मात्रै बीमालेख धितोमा ऋण दिन तथा बीमालेख समर्पण/त्याग्न गर्न सकिने व्यवस्था गरेको छ । बीमितहरुले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ ।
पछिल्लो समय कम्पनीहरुले यस्तो शिर्षकमा प्रवाह गर्ने कर्जा वृद्धि भएको छ । सबै कम्पनीहरुको बीमालेख धितो कर्जा बढेको देखिन्छ । बीमालेख धितो कर्जा लिएर बीमितले आफ्नो आर्थिक समस्या समाधान पनि गर्दै आएका छन् । कतिले भने व्यवसाय (साना तथा घरेलु) गर्न पनि यस्तो कर्जा लिने गरेको कम्पनीहरुले बताउँछन् । कर्जा लिने मध्ये केहीले भने आफू संचालन गरेको व्यवसायको आम्दानीबाट बीमा शुल्क तिर्ने गरेका छन् । यस्तै, कर्जाको किस्ता समेत बुझाउने गरेको पाइन्छ ।
गत आवमा बीमालेख धितोमा नेपाल लाइफले सबैभन्दा धेरै (रकमको आधारमा) कर्जा दिएको छ । कम्पनीले एकै वर्ष ३३ अर्ब ९१ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । यो कुल प्रवाह भएको कर्जाको ३४.७० प्रतिशत हुन आउँछ । अघिल्लो आवको तुलनामा नेपाल लाइफको यस्तो कर्जा ९ प्रतिशत वृद्धि भएको हो ।
गत आवमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले पनि २२ अर्ब २१ कारेड ३६ लाख रुपैयाँ र नेशनल लाइफले १० अर्ब ९८ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ७१ करोड १९ लाख, हिमालयन लाइफले ७ अर्ब ३७ करोड रुपैयाँ कर्जा बीमालेख धितोमा प्रवाह गरेका छन् ।
बीमालेख धितो कर्जा वृद्धिदर भने सिटिजन लाइफको देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा यस्तो शीर्षकको कर्जा २७.८७ प्रतिशत बढाएको छ । गत आवमा कम्पनीले ८१ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, सन नेपाल लाइफको पनि २६.२५ प्रतिशत, रिलायव नेपाल लाइफको २५.८५ प्रतिशत वृद्धि,हिमालयन लाइफको २२.५० प्रतिशत वृद्धि भएको छ ।
कुन कम्पनीका बीमितले कति लिए बीमालेख धितोमा ऋण ?

२४ प्रतिशत बढ्यो बीमालेख धितो कर्जाबाट हुने आम्दानी, एकै वर्ष पौने १० अर्ब आम्दानी
बीमालेख धितोकर्जामा प्रवाह हुने कर्जासँगै यसबाट हुने आम्दानीमा पनि बढोत्तरी देखिएको छ । कम्पनीहरुको यस्तो आम्दानी एक वर्षमा झन्डै २४ प्रतिशत वृद्धि भएको छ ।
गत कम्पनीहरुले बीमालेख धितो कर्जामा गरेका लगानीबाट ९ अर्ब ८९ करोड ८४ लाख आम्दानी गरेका छन् । यो अघिल्लो आवको तुलनामा २३.९७ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीहरुले ७ अर्ब ९८ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेका थिए । पछिल्लो समय बीमालेख धितो कर्जा कम्पनीहरुको आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ।
बीमालेख धितो कर्जाबाट आम्दानी भने सबैभन्दा धेरै सानिमा रिलायन्सको ३०६.०२ प्रतिशत वृद्धि भएको छ । दोस्रो सूचीमा रहेको प्रभु महालक्ष्मीको १६७.८१ प्रतिशत र तेस्रो स्थानमा रहेको एशियन लाइफको ११२.३९ प्रतिशत वृद्धि भएको छ।
यता, हिमालयन लाइफको पनि यस्तो आम्दानी ८९.४७ प्रतिशत, रिलायवल नेपालको ६८.९६, सिटिजनको ६५.७९, सन नेपालको ४९.०५ प्रतिशत वृद्धि भएको छ।
बीमालेख धितोकर्जाबाट कुन कम्पनीको आम्दानी कति ?














