१ खर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते आइतबार ) १०० अर्ब अर्थात् १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम संकलन गर्न लागेको हो । बोलकबोल मध्यान्ह ३ बजेसम्म हुनेछ।
राष्ट्र बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।
ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारे सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
