९ श्रावण २०८३, शनिबार

नेपालको कर प्रणाली पारदर्शी छ, जबरजस्ती कर लगाएर पेल्ने नीति छैन : पूर्व अर्थमन्त्री डा. खतिवडा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र अब सकारात्मक दिशामा अघि बढ्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई) ले संयुक्त रुपमा आयोजना गरेको पाँचौं नेपाल पूर्वाधार सम्मेलनको चौथो सत्रअन्तर्गत ‘वित्तीय, मौद्रिक र नियमन नीतिहरु’ विषयमा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने,‘हाँमी बाच्यौं, स्थिर अर्थतन्त्र कायम राख्यौं । केही कुरामा ढिलो भयो होला तर टाट पल्टेनौं । अन्य देशमा जस्तो जबरजस्ती कर लगाएर पेल्ने नीति छैन । संकटको समयमा हामीले केही न केही गर्नैपर्छ । तर, अन्य किसिमका प्रतिवन्धहरु सधैं भइरहेको छैन ।’

नेपालको कर प्रणाली पारदर्शी रहेको बताउँदै डा. खतिवडाले दोहोरो कर संकलन नहोस् भनेर एकद्वार प्रणाली अपनाइएको स्पष्ट पारे । कतिपय अस्पष्ट क्षेत्र हुँदैमा लगानीमा बाधा पुग्छ भन्ने होइन । लाभका ठाउँ धेरै छन् । निजी क्षेत्रका लागि पारदर्शी र व्यापारमैत्री वातावरण छ । ढुक्क भएर लगानी गर्नुस्,’ उनले भने ।

प्रतिस्पर्धात्मक वातावरणमा निजी क्षेत्रले प्रभावकारी रुपमा गर्न सक्ने भन्दै सार्वजनिक क्षेत्रबाट निजी क्षेत्रमा लगानी विस्तारै हस्तान्तरण हुँदै गएको उनको भनाई थियो ।

‘सार्वजनिक लगानीका कतिपय योजना छनोटमा ध्यान दिन जरुरी छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) ऐनलगायत काम पनि प्रक्रियामा छन्,’ उनले भने । लगानी सहजीकरणका लागि विभिन्न नियमनकारी प्रावधानको आवश्यकता हुने बताउँदै पूर्वाधारमा लगानीको सहजीकरणका लागि कानुनमा सुधार गरेर लैजानुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्