नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याएका छन् ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिए ।
‘तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासयी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस, संस्था चलायमान बनाउन सरकारको आग्रह छ’, मन्त्री भण्डारीले भने ।
भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरुको अवस्था अत्यन्तै नाजुक अवस्था रहेको उल्लेख व्यवस्थित बनाउन निर्देशन दिए । उनले भने,‘हाम्रो नीति निर्यात बढाउने हुनु पर्छ, ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मनत्रालयबाट आवश्यक सहयोग रहन्छ । ’
पारवहनका पदाधिकारीलाई साझेदार संस्थाहरुसँग हातेमालो गरेर ठोस योजना बनाउन निर्देशन दिए । उनले संस्थालाई चलायमान बनाएर समयसापेक्ष ढङ्गबाट चलाउन नसकिएको अवस्थामा सरकार घाटा बेहोरेर सञ्चालन गर्ने पक्षमा नरहेको बताए ।
पारवहनले सन्तोषजनक ढङ्गबाट कार्यसम्पादन गर्न नसके यसको औचितय नै समाप्त हुने मन्त्री भण्डारीको भनाइ थियो । ‘पारवहन सन्तोषजनक ढङ्गले नचले राज्यका लागि बोझ बनाउन सरकारले चाहे पनि सक्दैन’, उनले भने ।













