मानव तस्करीमा मुछिए कोशीका निवर्तमान मन्त्री – जापान जान ३ युवाले बुझाएका थिए १० देखि १३ लाखसम्म
काठमाडौँ । अहिले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी चर्चाको शिखरमा छन् । जापान भ्रमणको विषयमा विवाद उत्पन्न भएपछि राजीनामा दिएका उनीमाथि मानव तस्करीको आरोप लागेको छ ।
अधिकारीले जापान जाँदा तीन जना असम्बन्धित व्यक्तिलाई पनि सँगै लैजान भूमिका खेलेको आरोप उनीमाथि छ ।
अधिकारीसँग जापान गएका तीन युवाले तस्करलाई प्रतिव्यक्ति १० लाखदेखि १३ लाख रुपैयाँ बुझाएको अनुसन्धानबाट खुलेको छ। प्रहरीसँगको बयानमा उनीहरुले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलेको हो ।
मन्त्री अधिकारीसँगै उडेका तीन जना र कीर्ते कागजात बनाउनमा संलग्न तीन जना गरी ६ जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
जापानसम्म पुर्याउने, टिकटको व्यवस्था गर्ने, नक्कली कागजात बनाउने, भिसा उपलब्ध गराउनेसम्मको प्रयोजनका युवाबाट प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँका दरले रकम असुलेको देखिएको प्रहरीले जनाएको छ ।
जापानको राजधानी टोकियोस्थित टोकियो महानगरपालिकामा आयोजना हुने भनिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारीसँगै खोटाङ ऐँसेलुखर्क गाउँपालिका– २ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका– ११ बस्ने दावा शेर्पा, खोटाङकै केपिलासगढी गाउँपालिका– ४ घर भई बुढानीलकण्ठ– ११ मै बस्ने जनक राई र रसुवा कालिका गाउँपालिका– ५ घर भई काठमाडौं मनमैँजु बस्ने कञ्चन देवकोटा १३ कात्तिकमा उडेका थिए। तर, अधिकारीसँगै तीन युवालाई टोकियो अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ‘डिपोर्ट’ गरेपछि उनीहरू गत १७ कात्तिकमा नेपाल फर्किएका थिए।
उनीहरू मध्ये दुई जनाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै परिचय पत्र बोकेका थिए भने एक जनासँग वडा सदस्यको परिचयपत्र रहेको थियो ।













