मुद्दति निक्षेपमा १ अर्ब १७ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब बढी रकम लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे सो बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागेको हो । आगामी मंसिर ११ गतेदेखि लागू हुनेगरी २०८२ मंसिर १० गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब १ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा १९ करोड ५ लाख र राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ६ करोड ३५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् ।
राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी मंसिर ४ गते गते बेलुका ७ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।