बुद्ध पर्यटन प्रवद्र्धन समिति गठन, १ अर्ब भन्दा बढी बौद्धमार्गी लुम्बिनी ल्याउने « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

बुद्ध पर्यटन प्रवद्र्धन समिति गठन, १ अर्ब भन्दा बढी बौद्धमार्गी लुम्बिनी ल्याउने



काठमाडौ । नेपाल पर्यटन बोर्डको समन्वयमा लुम्बिनी तथा बुद्ध र बुद्ध धर्मसँग सम्बन्धित धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदाहरुको प्रवद्र्धन, तथा प्रचार प्रसार गर्ने उद्देश्यले बुद्ध पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको अग्रसरता एवं संयोजकत्वमा समिति समिति गठन गरिएको हो । त्यस्तै, पर्यटन व्यवसायी विक्रम पाण्डे सहसंयोजक र सदस्यहरुमा अम्बिका श्रेष्ठ, कर्ण शाक्य, बुद्ध धर्म संस्कृतिका अध्यता प्रा.डा. रमेश ढुङ्गेल, रोमन म्यागसेसे पुरस्कार विजेता अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त आँखा विशेषज्ञ डा. सन्दुक रुइतसम्मका व्यक्तित्वहरु रहेका छन् ।

समितिले बुद्धसँग सम्बन्धित अन्य स्थलहरु जस्तैः तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा, सगरहवाको प्रवद्र्धन, ब्राण्डिङ, सौन्दर्यीकरण, प्याकेजिङ, अन्य वरिपरिका पर्यटकीय स्थलहरुसँग जोड्ने कार्य, अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसारको मोडालिटी तय गर्ने लगायतको विषयमा अध्ययन, विचार र विमर्श गरी कार्ययोजना बनाउने छ । यसका साथै पद्मसम्भव मार्ग, बृहत् लुम्बिनी क्षेत्र, लुम्बिनी सर्किट, बुद्धिस्ट सर्किटलगायतका महत्त्वपूर्ण पथ, परिपथहरुको व्यापक प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा १ अर्बभन्दा बढी सङ्ख्यामा रहेका बौद्धमार्गी तथा शान्तिप्रिय पर्यटकहरुलाई विभिन्न देशबाट नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलका साथै स्थलमार्गबाट लुम्बिनी ल्याउन पहल गर्ने, लुम्बिनी क्षेत्रमा प्रवेशसँगै शान्ति, धार्मिक भावना तथा पवित्रताको अनुभुति हुने प्रकारको विकास एवं सौन्दर्यीकरण गर्नका लागि सम्बन्धित निकायहरुलाई आवश्यक सुझाव दिने लक्ष्य यो समितिले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्