धितोपत्र बोर्ड अध्यक्षमा दुई श्रेष्ठ र अधिकारीको नाम सिफारिस, कसको सम्भवाना कति ? « Arthapath.com
१९ असार २०८२, बिहीबार

धितोपत्र बोर्ड अध्यक्षमा दुई श्रेष्ठ र अधिकारीको नाम सिफारिस, कसको सम्भवाना कति ?



काठमाडौँ । निकै लामो प्रतीक्षा पश्चात् नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्ती गर्ने प्रक्रिया अघि बढेको छ । यससँगै ११ महिनादेखि नेतृत्व बिहिन भएको धितोपत्र बजारको नियामकले पूर्णता पाउने संभावना देखिन्छ ।

आइतबार बोर्डको अध्यक्ष सिफारिसका निम्ति संक्षिप्त सूचीमा समेटिएका अरु २ उमेद्वारले अन्तरवार्ता र प्रस्तुतीकरणमा सहभागिता जनाएसँगै यो प्रक्रिया अघि बढेको हो ।

यस अघि दुई पल्टसम्म अन्तरवार्तामा उपस्थित हुन आग्रग गर्दा पनि अटेरी गरेका सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुत गर्दै अन्तरवार्ता दिएपछि प्रक्रिया अघि बढेको हो ।

अरु दुई जना प्रत्यासी सन्तोषनारायण श्रेष्ठ र सेबोनकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले गत असार २ मा नै अन्तरवार्तामा सहभागि भइसकेका थिए । त्यस बेला गयल भएका अधिकारी र कार्कीले आइतबार अन्तरवार्ता दिएपछि प्रक्रिया अघि बढ्न गाँठो फुकेको हो ।

उनीहरुसँगै नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ पनि संक्षिप्त सूचीमा परेका थिए । तर पहिले नै दुई पल्ट गएल भएका उनी आइतबार पनि अन्तरवार्तामा गएनन् । उनले आफ्नो नियुक्ति ‘हुनै नसक्ने’ देखेपछि उक्त प्रक्रियामा सहभागि भइनरहने विकल्प रोजेको बताउँदै आएका थिए ।

अब यसपछि अन्तरवार्तामा सहभागि भएको सेबोनका दुई उच्च अधिकारी र नेप्सेका सीईओसँगै सन्तोष नारायण श्रेष्ठ गरी चार जना मुख्य दाबेदार मैदानमा देखिएका छन् । उनीहरुमध्ये ३ जनाको नाम सिफारिस समितिले मन्त्री परिषदमा सिफारिस गर्नुपर्ने हुन्छ ।

विभिन्न सूत्रहरुले आइतबार साँझ नै ३ जना उमेद्वारको नाम सिफारिस गरिसकेको भने पनि यसको पुष्टि हुन सकेको छैन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा रहेको समितिले ३ जनाको नाम सिफारिस गरिसकेको छ ।

सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको छ ।

सिफारिस मध्ये सन्तोषनारायण श्रेष्ठको संभावना उच्च रहेको ठान्छन् । यस अघि पनि उनैलाई अध्यक्ष बनाउन खोजिएका कारण एमाले र माओबादी केन्द्रको तत्कालिन सत्ता गठबन्धनमा तिक्तता उत्पन्न भएको ठानिएको थियो । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले त पटक पटक सेबोनको अध्यक्षमा वर्तमान प्रधानमन्त्री केपी ओलीको ‘हस्तक्षेप’ भएको आरोप लगाउँदै आएका थिए ।

पछिल्लो समय कर्पोरेट घरानाहरु पनि आफू अनुकुलको अध्यक्ष भित्र्याउन प्रयासरत रहेको खबरहरु सार्वजनिक हुँदै आएका छन् । यस दौडमा इन्फिनिटी होल्डिङका दीपक भट्ट र शंकर समूह एकातिर उभिएको दर्शाइएको छ भने नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको आईएमई समूह र विशाल समूह एक खेमामा उभिएको दर्शाइएको छ ।

उनीहरु या त आफूले चाहेको मान्छेलाई अध्यक्ष बनाउने, त्यसो हुन नसके अर्को खेमाले अघि सारेको पात्रलाई रोक्ने रणनीतिमा देखिएको बताइन्छ ।

सोमबारको मन्त्री परिषदमा प्रस्ताव लैजानसक्ने संभावनाका बीच सबै पक्षहरु ‘बनाउन’ र ‘रोक्न’ सक्रीय हुनसक्छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले कसलाई चाहन्छन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । पुर्व अर्थमन्त्री पुनले सन्तोषनारायण श्रेष्ठलाई इंगित गर्दै विभिन्न राजनीतिक आरोपहरु लगाएको भए पनि ओलीको चाहना र उनका सल्लाहकारहरुको धारणा स्पष्ट भइसकेको छैन ।

यस विषयमा प्रधानमन्त्री स्पष्ट हुन नसकेमा अहिले गरिएको नाम सिफारिसहरु बदलिएर पुनः नयाँ सिफरिस हुन पनि सक्छ । साथै उनले सोमबारकै मन्त्री परिषद बैठकमा यस विषयमाथि छलफल नगराउन पनि सक्छन् । तर अहिलेको तयारी हेर्दा सम्भवतः सोमबार नयाँ अध्यक्ष नियुक्त हुनसक्ने संभावना देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्