बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अध्यक्ष सिलवालविरुद्ध नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै मुद्दा दायर गरेको हो ।

अध्यक्ष सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा पदमा वहाल रही राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून वमोजिम कारवाही हुनपर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार सिलवालले पर्साबाट लिएको नागरिकता र काठमाडौंबाट लिएको नागरिकतामा फरक फरक मिति उल्लेख भएको आयोगले जनाएको छ । पर्साबाट जारी मिति २०३२।११।२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौबात नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६।०१।१७ गते जारी नागरिकतामा जन्म मिति २०१६।०७।२२ उल्लेख भएको आयोगले जनाएको छ ।

उनी विरुद्ध आयोगले छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रुपैयाँ सोह्र पैसा मात्र रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ । ‘सूर्य प्रसाद सिलवाललार्इ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र निज प्रतिवादी सूर्य प्रसाद सिलवालले मिति २०८०।०४।१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम रु.३६,६२,१५४।१६(छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा मात्र) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. र कसूरजन्य सम्पत्ति तथा साधन(रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत/असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्