बैंकहरुको सम्पत्ति साढे ७ खर्ब बढ्यो : धनी बैंकको शीर्षस्थानमा ग्लोबल र नबिल, एनआइसीको घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंकहरुको सम्पत्ति साढे ७ खर्ब बढ्यो : धनी बैंकको शीर्षस्थानमा ग्लोबल र नबिल, एनआइसीको घट्यो



काठमाडौं । बैंकहरुको सम्पत्ति कुल सम्पत्ति साढे ७४ खर्ब नाघेको छ । एक वर्षमै साढे ७ अर्ब थपिएको हो । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको कात्तिक मसान्तको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको कात्तिक मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकको कुल सम्पत्ति ७४ खर्ब ६८ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ११.२८ प्रतिशत बढी हो । सो अवधिमै बैंकहरुको सम्पत्ति ७ खर्ब ५७ अर्ब ४४ करोड ९ लाख रुपैयाँ थपिएको छ ।

राष्ट्र बैंकका आँकडा अनुसार एनआइसी एशिया बाहेकका अन्य सबै बैंकको सम्पत्ति बढेको छ । समिक्षा अवधिमा एनआइसी एशिया बैंकको सम्पत्ति १२.२७ प्रतिशत अर्थात् ५४ अर्ब ९९ करोड ५३ लाख घटेको छ । हाल बैंकसँग कुल सम्पत्ति ३ खर्ब ९२ अर्ब ८६ करोड ४० लाख रुपैयाँ छ ।

सम्पत्तिको आधारमा सबैभन्दा धनी ग्लोबल आइएमई बैंक देखिएको छ । हाल बैंकसँग ६ खर्ब ४९ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ छ । यो गत आवको कात्तिकसम्मको तुलनामा भने १४.८४ प्रतिशत अर्थात् ८४ अर्ब बढी हो । दोस्रो धेरै सम्पत्ति भने नबिल बैंकको देखिएको छ । हाल बैंकसँग पनि ६ खर्ब ६ अर्ब ६० करोड ५४ लाख रुपैयाँ बराबरको कुल सम्पत्ति छ । नबिलको सम्पत्ति पनि एक वर्षमा ७४ अर्ब ६४ करोड ८ लाख रुपैयाँ थपिएको हो ।

यस्तै, तेस्रो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ खर्ब ८० अर्ब ८६ करोड र चौंथो सूचीमा रहेको राष्ट्रिय वाणिज्य बैंकको ५ खर्ब २० अर्ब ६३ करोड २१ लाख रुपैयाँ छ । एक वर्षको अवधिमा यी दुई बैंकको सम्पत्ति क्रमशः ७२ अर्ब १२ करोड ६५ लाख र १ खर्ब २ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ बढेको हो ।

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरणहरुलाई लिने गरिन्छ । साथै अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।

गत मसान्तसम्ममा आइपुग्दा कुमारी बैंकको कुल सम्पत्ति ४ खर्ब ७७ अर्ब ८ करोड, लक्ष्मी सनराइजको ४ खर्ब १७ अर्ब २४ करोड १० लाख, हिमालयनको ३ खर्ब ९६ अर्ब १५ करोड, प्रभूको ३ खर्ब ७९ अर्ब ५० करोड, कृषि विकासको ३ खर्ब ६६ अर्ब ५१ करोड, नेपाल बैंकको ३ खर्ब ६४ अर्ब ६२ करोड, सिद्धार्थको ३ खर्ब २१ अर्ब ८० करोड, एनएमबिको ३ खर्ब २० अर्ब ९९ करोड र प्राइम बैंकको ३ खर्ब ७५ करोड रुपैयाँ छ ।

यता, एभरेष्ट बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब ३८ करोड, सानिमाको २ खर्ब ४५ अर्ब ३० करोड, सिटिजनको २ खर्ब ३६ अर्ब ८८ करोड, नेपाल एसबिआईको २ खर्ब ३१ अर्ब ९० करोड, माछापुच्छ्रेको २ खर्ब ४ अर्ब ६० करोड र स्ट्याण्डर्ड चार्टर्डको १ खर्ब ६३ अर्ब १ करोड रुपैयाँ छ ।

स्रोतः नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्