साढे २२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, डेढ वर्षको आयात धन्न पुग्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साढे २२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, डेढ वर्षको आयात धन्न पुग्ने



काठमाडौं । कुल विदेशी विनिमय सञ्चिति साढे १० प्रतिशत वृद्धि भएको छ । चार महिनामै यस्तो सञ्चिति साढे २२ खर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । तर, चार महिनामै १०.५ प्रतिशत अर्थात् २ खर्ब १४ अर्ब २४ करोड रुपैयाँ बढेको छ। योसँगै गत कात्तिक मसान्तसम्म आइपुग्दा यस्तो सञ्चिति २२ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । तर, कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेको थियो । तर, कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भएको छ। योसँगै २० खबै ८ अर्ब १५ करोड पुगेको राष्ट्र बैंकको आँकडामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २८.४ प्रतिशत बढेको छ । असार मसान्तमा यस्तो सञ्चिति १ खर्ब ९२ अर्ब ५५ करोड रहेको थियो । तर, कात्तिक मसान्तमा बढेर २ खर्ब ४७ अर्ब २० करोड कायम भएको छ ।

कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।

चालु आवको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्