एकै महिना ७८ करोड थप बजेट निकासा तथा रकमान्तर, कहाँ कति ?

काठमाडौं । एक महिनामा अर्थ मन्त्रालयले ७८ करोड रुपैयाँ बराबरको आर्थिक सहायता, थप निकासा, रकमान्तर तथा स्रोत सहमति दिएको छ ।
कात्तिक महिनामा मन्त्रालयले सो बराबरको रकम शीर्षक बाहिरबाट भुक्तानी दिएको हो ।
कात्तिकमा थप ६७ करोड रुपैयाँ ४१ लाख रुपैयाँ बजेट निकासा भएको छ । यस्तै, १० करोड रुपैयाँ रकमान्तर गरिएको छ भने सो महिनामा १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान भएको अर्थमन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै बजेट निकासा आन्तरिक राजश्व कार्यालयहरु अन्तर्ग सर्वोच्च अदालतको फैसला बमोजिम आवका कोषबाट उपदान भुक्तानी गर्दा बढी कर कट्टी तथा दाखिला भएका कर रकमको सम्वन्धित व्यक्तिलाई फिर्ता गर्न रकमान्तर तथा निकासा भएको छ । कात्तिममा यस्तो शीर्षकको रकमान्तर ४० करोड २७ लाख ६४ हजार बढी रकम निकासा तथा रकमान्तर भएको छ ।
मंसिर १६ गते सम्पन्न स्थानीय तहको उप निर्वाचनका संचालनार्थ निर्वाचन आयोगलाई २१ करोड ८९ लाख रुपैयाँ थप रकम रकमान्तार निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । यता, निर्वाचन आयोगलाई नै गत आवको सृर्जित दायित्व भुक्तानी गर्न २ लाख ८० हजार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूह अन्तर्ग कर्मचारी निलम्बन अवधिको तलब भत्ता भुक्तानी गर्ने प्रयोजनार्थ ५१ लाख ४७ हजार रुपैयाँ रकमान्तर निकासा भएको छ ।
मन्त्रालयका अनुसार सो अवधिमा पुँजीगत तर्फ १ करोड भन्दा बढी बजेट उपशीर्षकबाट अर्को बजेट शीर्षकमा १० करोड रकमान्तर भएको छ । सरकारले दुई मन्त्रालयका लागि सो बराबरको बजेट रकमान्तर गरेको हो । शहरी विकास मन्त्रालयको बस्ती विकास कार्यक्रमका लागि २ करोड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमका लागि ८ करोड ७९ लाख ८३ हजार रुपैयाँ बजेट बढाइएको छ ।
यस्तै, मुद्दाको रोहमा वादी तथा प्रतिवादीले अदालतमा राखेको कोर्ट फि तथा धरौटी बापतको रकम मुद्दाको अन्तिम किनारा लागे पश्चात फिर्ता गर्ने प्रयोजनार्थ उच्च अदालत र जिल्ला अदालतहरुलाई ३६ लाख ६३ हजार रुपैयाँ थप रकम रकमान्तर तथा निकासा भएको अर्थमन्त्रालयले जनाएको छ ।
यस्तै, कात्तिकमा संखुवासभा कारागारमा भएको घटनामा परि मृत्यु भएका विनोद तोलङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामी) को परिवारलाई ५–५ आर्थिक सहायता प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।