पेन्सन बापत नेपाल भित्रने रकममा २० प्रतिशत गिरावट, चार महिनामा साढे १४ करोड डलर भित्रियो

काठमाडौं । पेन्सन बापत नेपाल भित्रने विदेशी मुद्रा निरन्तर घट्न थालेको छ ।
नेपालीहरूले वैदेशिक रोजगारीबाट रिटायर अर्थात् अवकाश भएपछि नियमित रूपमा पेन्सन पाउँछन् । सोही बापत नै नेपाल भित्रने रकममा गिरावट आएको देखिन्छ ।
चालु आर्थिक वर्षको महिनामा साढे १९ अर्ब रुपैयाँ रकम नेपाल भित्रिएको छ । तर, यो गत आवको सोही अवधिको तुलनामा २० प्रतिशत कमी हो । नेपाल राष्ट्रले उपलब्ध गराएको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवका चार महिनामा पेन्ससन बापत १९ अर्ब ४२ करोड २४ लाख रुपैयाँ रकम भित्रिएको छ । गत आवको साउनदेखि कात्तिकसम्म पनि २४ अर्ब २७ करोड ७ लाख रुपैयाँ भित्रिएको थियो ।
नेपालीहरूले भारत, सिंगापुर लगायतका देशको आर्मी लगायतका सरकारी सेवामा रोजगारी गर्दै आएका छन् । यसका साथै अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि काम गर्ने गरेका छन् । उनीहरु अवकाश भएपछि त्यहाँको कानुनी प्रावधानबाट नियमित पेन्सन पनि पाउँछन् । उनीहरूले सम्बन्धित देशबाट मासिक, अर्धवार्षिक, वार्षिक रूपमा पेन्सन पाउँछन् ।
सोही बापत नेपालमा चालु आवको चार महिनामा १४ करोड ४२ लाख २० हजार अमेरिकी डलर नेपाल भित्रिएको छ । गत आवको सोही अवधिको तुलनामा भने यो २१.१८ प्रतिशत कमी हो । गत आवको पहिलो चार महिनामा पनि १८ करोड २९ लाख डलर भित्रिएको थियो ।
अहिले विश्वव्यापी रुपमा आर्थिक शिथिलता कायमै रहेको छ । आर्थिक मन्दी र बेरोजगारी दर पनि बढ्को तथ्याङ्क पनि छन् । विश्वका अधिकांश मुलुकहरुमा नेपाली नागरिकहरु कामदारको रुपमा बसोबास गर्दै आएका छन् । त्यस्तो अवस्थमा उनीहरुको पेन्सन बापत बचत हुने रकम नै कमी हुन सक्ने अनुमान समेत गरिएको ।
यस्तै, मुद्राको विनिमय दरको घटबढले पनि यस्तो रकममा प्रभाव पारेको हुन सक्ने बताइन्छ । विदेशी भूमिका काम गर्ने नेपाली कामदारहरुले वैदेशिक पेन्सन कोषमा कम लगानी अर्थात् प्राथमिकता दिएकाले पनि नेपाल भित्रने रकममा कमी आएको हुन सक्ने आँकलन छ ।