घरजग्गा कारोबार बौरिने संकेत : मंसिरमा कारोबारसँगै राजश्वमा पनि बढोत्तरी, कहाँ कति किनबेच ? « Arthapath.com
११ असार २०८२, बुधबार

घरजग्गा कारोबार बौरिने संकेत : मंसिरमा कारोबारसँगै राजश्वमा पनि बढोत्तरी, कहाँ कति किनबेच ?



काठमाडौं । मंसिरमा घरजग्गा कारोबार सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि नै निरन्तर सुस्ताएको घरजग्गा कारोबार मंसिरमा भने केही सुधार देखिएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा देशभर ४३ हजार ३७९ वटा घरजग्गा कारोबार (लिखत) पारित भएका छन् । यो गत वर्षको सोही महिनाको तुलनामा ३.६५ प्रतिशत बढी हो । गत वर्षको मंसिर महिनामा देशभर ४१ हजार ८५१ वटा घरजग्गा किनबेच भएका थिए ।

गत कात्तिकको तुलनामा भने कारोबार २९.४३ प्रतिशत बढेको देखिन्छ । गत कात्तिकमा देशभर ३३ हजार ५१४ वटा घरजग्गा खरिदबिक्री भएको थियो । चालु आवको पहिलो अर्थात् साउनमा ४३ हजार ८३५ वटा घरजग्गा किनबेच भएका थिए । तर, त्यसपछि भने लगातर घटेको थियो । विभागका अनुसार गत असोज महिनामा ३० हजार ५२७ वटा, भदौमा ३२ हजार ७९८ वटा घरजग्गाको लिखत पारित भएका थिए ।

मंसिर महिनामा कारोबारका लागि मुख्य सिजन मानिन्छ, त्यसकारण पनि कारोबारमा केही सुधार देखिएको हो । हरेक वर्षको साउनदेखि असोज मसान्तसम्म घरजग्गा कारोबारको अफसिजन मानिन्छ । यो अवधिमा अन्य महिनाको तुलनामा कम कारोबार हुने गरेको छ । असोज कात्तिकमा नेपालीहरुको मुख्य ठुला चाडपर्वहरु पर्छन्, त्यसैले पनि कारोबार संख्या कम हुने गरेको छ । तुलनात्मक रुपमा चाडपर्वको सिजन सकिएसँगै विस्तारै कारोबारमा पनि सुधार आउने व्यवसायीहरु बताउँछन् ।

कारोबारमा आएको सुधारसँगै राजश्वमा पनि बढोत्तरी देखिएको छ । गत वर्षको मंसिरको तुलनामा राजश्व ३५.२४ प्रतिशत वृद्धि भएको छ । मंसिरमा देशभरको घरजग्गा कारोबारबाट कुल ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । विभागका अनुसार गत वर्षको मंसिरमा यस्तो राजश्व २ अर्ब ८६ करोड ५०० लाख ११ हजार रुपैयाँ रहेको थियो ।

मंसिरमा रजिष्ट्रेशन दस्तुर बापत २ अर्ब ६३ करोड ७८ लाख १२ हजार रुपैयाँ, पुँजीगत १ अर्ब ३१ करोड ६३ लाख ४३ हजार र सेवा कर मार्फत २६ करोड ६ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

मंसिरमा धेरै घरजग्गा किनबेच हुने ठाउहरु

मंसिरमा सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवामार्फत १ हजार ५५३ वटा घरजग्गा किनबेच भएको छ ।

यस्तै, बोलवारी मोरङमा पनि १ हजार ४४२ वटा, भद्रपुर झापामा १ हजार ३९८ वटा, धनगढी कैलालीमा १ हजार २२८ र जनकपुरधाम धनुषामा १ हजार १३७ वटा घरजग्गा लिखत पारित भएको छ ।

यता, राजविराज सप्तरी ९४१ वटा, मलंगवा सर्लाहीमा ९३९, भक्तपुरमा ८८८, नेपालगञ्ज बाँकेमा ८८८, कोहलपुरमा ८८२, दाङ तुलसीपुरमा ८८०, कपिलबस्तुमा ८४८, लगनखेल ललितपुरमा ८३९, विराटनगर मोरङमा ८२३ र सिराहमा ८१९ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

विभागका अनुसार रुपन्देहीमा ७८६, काभ्रेपलाञ्चोकमा ७६२, दमक झापामा ७६१, घोराही दाङमा ७५५, चितवनमा ७४७, पर्सामा ७०६, नवलपरासीमा ६८१, कलैया बारामा ६३१, लाहान सिराहामा ६१०, टिकापुर कैलालीमा ६०१, जलेश्वर महोत्तरीमा ५९१, मकवानपुरमा ५९०, कास्कीमा ५८१, बर्दिया ५७५, कलंकी काठमाडौं ५६२, सुर्खेतमा ५३५, महेन्द्रनगर कन्चनपुरमा ५३१ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

राजश्व कहाँबाट कति उठ्यो ?

मंसिरमा राजश्व भने मालपोत कार्यालय चितवनबाट धेरै संकलन भएको छ । सो कार्यालय मार्फत एकै महिना ३५ करोड ९८ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै, कलंकी काठमाडौंबाट पनि २६ करोड ५७ लाख २५ हजार, चावहिलबाट २२ करोड ५८ लाख २३ हजार, भक्तपुरबाट २२ करोड २७ लाख ९० हजार, डिल्लीबजारबाट १९ करोड ९६ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन भएको छ।

यता, कास्कीमा १३ करोड ५९ लाख २४ हजार, विराटनगर मोरङको १० करोड ४९ लाख १० हजार, काभ्रेपलाञ्चोकबाट ९ करोड ८७ लाख ६० हजार, इनरुवा ९ करोड ७६ लाख, धनगढी कैलालीबाट ८ करोड ५९ लाख, रुपन्देही बुटवलबाट ७ करोड ९० लाख र रुपन्देहीबाट ७ करोड ८१ लाख, साँखु काठमाडौंबाट ७ करोड ५० लाख, मनमैजुबाट ७ करोड २६ लाख र टोखाबाट ७ करोड १२ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।


प्रतिक्रिया दिनुहोस्