घर-जग्गासँगै बढ्न थाल्यो अपार्टमेन्ट किनबेच : कलंकी क्षेत्रमा धेरै कारोबार, कहाँ कति ?

काठमाडौं । करिव ठप्प जस्तै रहेको अपार्टमेन्ट खरिदबिक्री पुनः बढ्न थालेको छ । समग्रमा घरजग्गा कारोबार बढेसँगै अपार्टमेन्ट खरिदबिक्री पनि सुधार देखिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा डेढ सय युनिट अपार्टमेन्ट खरिदबिक्री भएका छन् ।
गत साउनदेखि मंसिर मसान्तसम्म आइपुग्दा देशका विभिन्न ठाउँमा १५५ युनिट अपार्टमेन्ट खरिदबिक्री भएको विभागले जनाएको छ ।
गत असोजपछि नै अपार्टमेन्ट खरिदबिक्री बढीको देखिन्छ । चालु आवको पहिलो महिनामा देशभर १६ वटा मात्रै खरिदबिक्री भएको थियो । भदौ महिनामा २४ युनिट र असोजमा २३ वटा अपार्टमेन्ट खरिदबिक्री भएको विभागले जनाएको छ ।
त्यसपछिका महिनामा क्रमिक सुधार भएको विभागको मासिक आँकडाले देखाउँछ ।
विभागका अनुसार गत कात्तिकमा पनि २९ युनिट अपार्टमेन्ट खरिदबिक्री भएको थियो । तर, मंसिरमा आइपुग्दा भने ६३ वटा अपार्टमेन्ट खरिदबिक्री भएका छन् । यो गत वर्षको सोही महिनाको तुलनामा भने झन्डै तीन गुणा (१८६.३६ प्रतिशत) वृद्धि भएको छ । गत वर्षको मंसिरमा जम्मा २२ वटा मात्रै अपार्टमेन्ट किनबेच भएको थियो ।
पछिल्लो समयमा आम मानिसहरुको अपार्टमेन्टमा बस्ने प्रवृति बढेको छ । यस्तो प्रवृत्ति विकासले पनि अपार्टमेन्ट किनबेच बढ्न थालेको व्यवसायीहरुको भनाई छ ।
घरजग्गा खरिद बिक्रीका लागि कात्तिकपछिको महिनालाई मुख्य सिजन पनि मानिन्छ । यो सजिनामा अन्य महिनाको तुलनामा धेरै कारोबार हुने गरेको आँकडा छ ।
निकै लामो समयदेखि सुस्ताएको घरजग्गा खरिदबिक्री पनि सकरात्मक देखिन्छ । कारोबारसँगै राजश्व पनि वृद्धि भएको छ । घरजग्गा कारोबारसँगै अपार्टमेन्ट किनबेच पनि बढेको हो । मंसिर महिनामा देशभर ४३ हजार ३७९ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।
कहाँ कहाँ कस्तो चल्दैछ अपार्टमेन्ट किनबेच ?
अपार्टमेन्ट खरिदबिक्री मुख्य सहरी क्षेत्रमा धेरै खरिदबिक्री हुँदै आएको छ । काठमाडौं, ललितपुर, पोखरा लगायतका विभिन्न ठाउँमा अपार्टमेन्ट किनबेच हुँदै आएको छ ।
मंसिरमा सबैभन्दा धेरै काठमाडौंमा किनबेच भएका छन् । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा ८ युनिट मात्रै अपार्टपेन्ट लिखत पारित भएको छ । बाँकी ५५ युनिट भने काठमाडौं जिल्ला अन्तर्गतका मालपोत कार्यालय मार्फत किनबेच भएको विभागले जनाएको छ ।
विभागका अनुसार सबैभन्दा धेरै मालपोत कार्यालय कलंकी क्षेत्रमा किनबेच भएको छ ।सो क्षेत्रमा एकै महिहना ४३ युनिट अपार्टमेन्ट खरिदबिक्री भएको छ । यो कुल कारोबारको ६८.२५ प्रतिशत हुन आउँछ ।
यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय डिल्ली बजार मार्फत मंसिरमा ७ युनिट अपार्टमेन्ट किनबेच भएको छ । विभागका अनुसार काठमाडौंको चावहिलमा ४ युनिट र टोखा क्षेत्रमा एउटा मात्रै अपार्टमेन्ट किनबेच भएको हो । यी बाहेकका अन्य क्षेत्रमा भने मंसिरमा कारोबार नै भएको छैन ।
हाल देशको विभिन्न ठाउँमा ठुलो संख्यामा अपार्टमेन्ट निर्माणाधिन अवस्थामा छन् । अधिकांश अपार्टमेन्ट निर्माणकै चरणमा रहेकाले पनि कारोबार अपेक्षित नबढेको व्यवसायीहरु बताउँछन् । नयाँ बनिरहेका अपार्टमेन्टको निर्माण सम्पन्न भए लगत्तै अगामी दिनमा कारोबार थप बढ्ने उनीहरुको भनाई छ ।