छुट्ला है, गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले पुस २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आजसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
त्यसैगरी, कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर म्यूचुअल फण्डहरुलाई छुट्याएको छ।
कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको उक्त शेयर खरिद गर्न इच्छुकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।