बजारबाट ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बजारबाट ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज आइतबार फागुन ११ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी चैत ३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।


प्रतिक्रिया दिनुहोस्