मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : तयारी अन्तिम चरणमा, कहिलेसम्म आउँला ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : तयारी अन्तिम चरणमा, कहिलेसम्म आउँला ?



काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । यसपटक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लचिलो ल्याउने सम्भावना बढी देखिन्छ ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति अर्धवार्षिक समीक्षाको मस्यौदा तयार भइसकेको छ । अब उक्त मस्यौदा व्यवस्थापन समिति र सञ्चालक समितिबाट स्वीकृत भएपछि सार्वजनिक हुने स्रोतको भनाइ छ ।

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार मौद्रिक नीति अर्धवार्षिक समीक्षा समयसीमा भित्रै ल्याउने गरी आन्तरिक तयारी भइरहेको छ । नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । जसअनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ गतेभित्र ल्याइसक्नुपर्नेछ ।

त्यसो त अब बिहीबारभित्रमा मौद्रिक नीतिको समीक्षा आउन सक्छ । ‘एकदुई दिन अघिपछि हुने कुरा अलग्गै भयो । व्यवस्थाकै अधिनमा रहेर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुन्छ । त्यसको लागि तयारी भइरहेको छ’ पौडेलले भने ।

राष्ट्र बैंकले यसअघि नै लचक मौद्रिक नीति ल्याइसकेको छ । त्यसकारण पनि त्यतोधेरै परिवर्तन नहुने स्रोतले जनाएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यहि चैत २५ गते सकिंदैछ । यो अर्धवार्षिक समीक्षा नै उनको कार्यकालको अन्तिम समीक्षा हो । आफ्नो कार्यकालको अन्तिम समीक्षा भएकाले पनि गभर्नर अधिकारीले यसपटक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लचिलो ल्याउने सम्भावना बढी देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्