बीमा प्राधिकरण अध्यक्षका लागि ३ जनाको नाम सिफारिस « Arthapath.com
१२ फाल्गुन २०८१, सोमबार

बीमा प्राधिकरण अध्यक्षका लागि ३ जनाको नाम सिफारिस



काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको छ । सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस गरेको हो।

मन्त्रिपरिषदको आज बस्ने बैठकले ३ मध्ये १ जनालाई प्राधिकरणको अध्यक्ष बनाउनेछ । अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दैछ ।

गत शनिबार भएको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अर्न्तवार्ताका आधारमा धेरै अंक प्राप्त गर्ने ३ जना प्राधिकरण अध्यक्षको लागि सिफारिस भएका हुन् । ३ जना मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

अध्यक्ष पदको निम्ति बीमा, मौद्रिक, बैंकिङ, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्योसरहको उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ । सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको पनि हुनुपर्ने व्यवस्था छ ।

यस्तै, उच्च नैतिक चरित्र भएको, तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुर नलागेको लगायतका योग्यता तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्