मोटर र सम्पत्ति बीमाकै भरमा निर्जीवन बीमा व्यवसाय, कुन क्षेत्रबाट कति प्रिमियम कलेक्शन ?

काठमाडौं । निर्जीवन बीमा व्यापार करिब करिब १० प्रतिशत वृद्धि भएको छ । हाल संचालनमा रहेका निर्जीवन बीमकले ७ महिनामामा २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
कम्पनीहरुले १८ लाख २१ हजार ९२७ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । समिक्षा अवधिमा कम्पनीहरुको बीमालेख बिक्री पनि ६.९८ प्रतिशत वृद्धि भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा व्यवसायमा सर्वाधिक हिस्सा मोटर बीमाले ओगटेको छ । हाल यस्तो बीमाले ३१.०३ प्रतिशत योगदान छ । ७ महिनाको अवधिमा कम्पनीहरुले मोटर बीमा मार्फत ७ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने ५.२१ प्रतिशत बढी हो ।
पछिल्लो समय सम्पत्ति बीमा पनि बढ्दो नै छ । हाल यस्तो बीमा मार्फत कम्पनीहरुले उठाउने बीमा शुल्क १३.६७ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको पहिलो ७ महिनामा भने ५ अर्ब ५७ करोड २४ लाख रुपैयाँ बराबरको मात्रै सम्पत्ति बीमालेख बिक्री गरेका थिए ।
निर्जीवन बीमा व्यवसाय मोटर र सम्पत्ति बीमा नै निर्भर छ । कुल व्यापारमा मोटर बीमा र सम्पत्ति बीमाको हिस्सा ५६ प्रतिशत बढी हुन् आउँछ । हाल मोटर र सम्पत्ति बीमालाई अनिवार्य गरिएको छ । नेपालमा कानुनी रुपमा अनिवार्य गरेपछि दुवै बीमाको व्यापार बढ्दो नै छ । पछिल्लो सवारी साधान खरिदबिक्रीमा पनि केही सुधार आएसँगै मोटर बीमा बढ्न पुगेको हो । यता, बैंकबाट कर्जा लिँदा पनि सम्पत्तिको बीमा पनि अनिवार्य छ । यसले पनि व्यवसायको दायार थप बढ्दै गएको हो ।
तेस्रो ठुलो हिस्सा रहेको इन्जिनियरि तथा ठेक्का बीमा व्यवसाय पनि १२.२५ प्रतिशत वृद्धि भएको छ । ७ महिनामा कम्पनीहरुले यस्तो बीमा मार्फत ३ अर्ब ६१ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो कुल व्यवसायको १४.५८ प्रतिशत हुन आउँछ ।
यस्तै, विविध शीर्षकको बीमा मार्फत पनि कम्पनीहरुले २ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, सामून्द्रिक बीमा मार्फत १ अर्ब ४५ करोड ५६ लाख र हवाई मार्फत १ अर्ब ३५ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी दुई बीमालेखको हिस्सा क्रमशः ५.८५ प्रतिशत र ५.४७ प्रतिशत हुन् आउँछ ।

प्राधिकरणका अनुसार कृषि तथा बाली बीमा भने १३.३४ प्रतिशत घटेको छ । ७ महिनामा कम्पनीहरुले ९६ करोड ४७ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।
तर, लघुबीमा व्यवसाय विस्तार भने निकै आक्रामक देखिन्छ । कम्पनीहरुले एक वर्षको अवधिमा नै लघु निर्जीवन बीमा व्यवसाय ६.२३ गुणा बढाएर ५१ करोड ३२ लाख रुपैयाँ पुर्याएको छन् ।
समिक्षा अवधिमा गत आवको तुलनामा हवाई बीमालेख, सम्पत्ति र मोटर बीमालेख बिक्री भने घटेको छ । मोटर र सम्पत्ति बीमा शुल्क आर्जन बढेको भएता पनि बीमालेख बिक्रीदर भने घटेको हो ।
