अधिक तरलता बढेपछि तनावमा केन्द्रिय बैंक, फेरि २५ अर्ब निक्षेप किन्दै « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

अधिक तरलता बढेपछि तनावमा केन्द्रिय बैंक, फेरि २५ अर्ब निक्षेप किन्दै



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब रुपैयाँ बराबरको निक्षेप किन्ने भएको छ । बैंकहरुमा जम्मा भएको निक्षेप रकमलाई न्यूनतम ब्याज दिने गरी २१ दिनसम्म केन्द्रिय बैंकले किनिदिने भएको हो ।

यस्तो योजनालाई राष्ट्र बैंकले ‘निक्षेप संकलन’ भन्ने गरेको छ । केन्द्रिय बैंकमा निक्षेप राख्न बैंकहरुले दिएको बोलकबोल रकमबाट राष्ट्र बैंकले २५ अर्ब तरलता खिच्न लागेको हो ।

यसअघि पनि राष्ट्र बैंकले यस्ता मौद्रिक उपकरणहरुमार्फत् बजारमा भएको तरलता (लगानीयोग्य पैसा) खिच्दै आएको थियो ।

सबैभन्दा कम ब्याजदरमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाको बोलकबोलका आधारमा ब्याजदर तय हुने छ । तर राष्ट्र बैंकले २५ अर्बको साटो त्योभन्दा कम वा बढी पनि पैसा लिन भने सक्छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले कम्तिमा १० करोड र बढीमा २५ अर्बसम्म निक्षेप बेच्ने गरी बोलकबोल गर्न पाउने छन् । अहिले राखिएको पैसाको सावाँ ब्याज १७ चैतमा फिर्ता हुने छ ।

बैंकहरुमा तरलता बढ्दै गएपछि यो अवस्था आएको हो । राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्म सिंगो वित्तीय प्रणालीमा ९६ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ अधिक तरलता थियो ।

राष्ट्र बैंकले तोकेका सबै किसिमका मापदण्ड र अनुपातहरु पुरा गरेर पनि बढी भएको पैसालाई ‘अधिक तरलता’ भनिन्छ । लगानी गर्नुपर्ने यस्तो पैसा बैंकमा जम्मा भएर बस्नु भनेको मान्छेको पेटमा बोसो लागेजस्तै हानिकारक हुन्छ ।

यस्तो पैसा नै १ खर्ब हाराहारी पुगेपछि राष्ट्र बैंकले करीब एक चौथाई अधिक तरलतालाई खिच्ने प्रयास गरेको हो ।


प्रतिक्रिया दिनुहोस्