यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ ।
यस्तै आयात १०.१ प्रतिशतले र निर्यात ४६.५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.३ प्रतिशतले बढेको छ ।
यसैगरी शोधनान्तर स्थिति रु.२८४ अर्ब ४१ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड पुगेको छ ।
नेपाल सरकारको खर्च रु.७५४ अर्ब ८५ करोड र राजस्व परिचालन रु.६४२ अर्ब ८५ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।












