तीन वर्ष यताकै न्यून बिन्दुमा आइपुग्यो ‘बेस रेट’, कुन-कुन बैंकबाट पाइन्छ एकदमै सस्तो ब्याजमा ऋण ? « Arthapath.com
१९ असार २०८२, बिहीबार

तीन वर्ष यताकै न्यून बिन्दुमा आइपुग्यो ‘बेस रेट’, कुन-कुन बैंकबाट पाइन्छ एकदमै सस्तो ब्याजमा ऋण ?



काठमाडौं । बैंकहरुको बेस रेट (आधार दर) तीन वर्ष यताकै न्यून बिन्दुमा आइपुगेको छ । हाल बैंकको आधार दर ५ प्रतिशत बिन्दुमा आइपुगेको छ ।

चैत महिनामा अधिकांश बैंकका आधार दर ७ प्रतिशत तल छ । गत फागुनमा बैंकहरुको औसत आधार दर ६.६३ प्रतिशत रहेको थियो । तर, चैतमा भने ०.१५ प्रतिशत बिन्दु घटेर ६. ४८ प्रतिशत कायम भएको छ ।

बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । गत कात्तिक महिनादेखि लगातार ब्याजदर घट्दो नै छ । हाल बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर थप घट्दै गएको हो । निक्षेपको ब्याजदर पनि घटाउँदा, यसले बैंकहरुको लागत पनि घटेको छ । बैंकहरुको आधार दर पनि घट्न थालेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको छ ।

बैंकको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूले कर्जाको प्रकृति अनुसार ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । हाल अधिकांश बैंकहरुबाट ऋण लिँदा सस्तो ब्याज पर्न जानेछ । कतिपय बैंकहरुले केही शीर्षकमा आधार दरमै कर्जा उपलब्ध गराउन तयार देखिन्छन् ।

चैत महिनामा एनआइसी एशियाको आधार दर ७.४१ प्रतिशत र प्राइम कमर्सियल बैंकको आधार दर ७ प्रतिशत छ । यी बाहेकका अन्य बैंकको बेस रेट ७ प्रतिशत कम छ ।

सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५.०३ प्रतिशत छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ५.२८ प्रतिशत, एभरेष्टको ५.४६ प्रतिशत, नेपाल बैंकको ५.९६ प्रतिशत छ । तुलनात्मक रुपमा हाल यी बैंकहरुबाट ऋण लिँदा ब्याज सस्तो पर्न जाने देखिन्छ ।

विवरणअनुसार हाल नबिल बैंकका आधार दर ६.०५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.२५ प्रतिशत, कृषि विकासको ६.५२ प्रतिशत, ग्लोबल आइएमईको ६.५६ प्रतिशत, एनएमबि बैंकको ६.५९ प्रतिशत, सानिमाको ६.६०, माछापुच्छ्रेको ६.६८, सिद्धार्थको ६.६९ प्रतिशत रहेको छ ।

यता, नेपाल एसबिआई बैंकको पनि ६.८५ प्रतिशत, हिमालयनको ६.८८ प्रतिशत, प्रभू ६.९३, लक्ष्मी सनराइजको ६.९३, सिटिजनको ६.९५ र कुमारीको ६.९९ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्