यी हुन् प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणमका क्रममा भएका आठ सम्झौता

कडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणमका क्रममा आठ वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुबै देशका प्रधानमन्त्रकिो उपस्थितिमा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
उक्त अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाल सरकारका तर्फबाट थाइ सरकारसँग दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने र दुई देशबीचको सांस्कृतिक सम्झौता गरि दुई सम्झौतामा हस्ताक्षर गरिन् ।
निजी स्तरबाट काठमाडौं विश्वविद्यालय र थाइल्यान्डको सियाम विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य बढाउने तथा उच्च शिक्षामा नवप्रर्तनलाई प्रवद्र्धन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल नेत्रज्याति संघ र थाइल्यान्डको माहिडोल विश्वविद्यालयअन्तर्गतको रामाथिबोडी अस्पतालबीच पनि सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाइ चेम्बर अफ कमर्श एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलबीच आपसी सहकार्यको तथा व्यापार अभिवृद्धिका विषयमा समझदारी भएको छ ।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र थाइ उद्योग महासंघ एफटीआईका अध्यक्ष क्रियेंग्राइ थेननुकुलबीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
यस्तै, नेपाल चेम्बर अफ कमसका अध्यक्ष कमलेशकुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाइल्यान्डका अध्यक्ष चाइ अरुनानोनडिचाइबीच पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ ।
त्यस्तै, नेपालको जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको कसेस्टार्ट विश्वविद्यालयबीच जैविक प्रविधि मार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरे ।
थाइ समकक्षीसँग भएको दुई पक्षीय बैठकपछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गरेको बताए ।
थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले दुई देशबीच व्यापार बढाउन थाइ लगानीकर्ताले नेपालमा थप लगानी गर्ने विश्वास उनले व्यक्त गरिन् ।