मोटर बीमा गर्न कुन कुन कम्पनी रुचाउँछन् सवारीधनी ? यस्तो छ बीमालेख बिक्रीको आँकडा

काठमाडौं । कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको योगदान उल्लेख्नीय छ । कुल व्यवसायमा मोटर बीमाको हिस्सा ३० प्रतिशत बढी छ ।
पछिल्लो समय मोटर बीमाको व्यवसायिक आकार पनि बढ्दो नै छ । यद्यपि, आर्थिक शिथिलता लगायतका कारण अपेक्षित रुपमा व्यवसाय बढ्न भने सकेको छैन ।
हाल १४ वटा ठुला र ४ वटा लघु निजीवन बीमा गरि कुल १८ वटा कम्पनीहरु संचालनमा छन् । ती कम्पनीहरु मार्फत मोटर बीमा हुँदै आएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले कुल २८ अर्ब ६० करोड ८४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यसमा मोटर बीमाको योगदान ३०.०६ प्रतिशत हुन् आउँछ । समिक्षा अवधिमा कम्पनीहरुले साढे १२ लाख बढी मोटर बीमालेख बिक्री गरेका छन् ।
प्राधिकरणका अनुसार ठुला निर्जीवन बीमा कम्पनीहरुले मात्रै ९ लाख ४४ हजार बढी मोटर बीमालेख बिक्री गरेका छन् । यता, लघु बीमकले ३ लाख बढी बीमालेख बेचेका छन् ।
हाल सरकारले मोटर बीमालाई अनिवार्य गरेको छ । जसका कारण हरेक सवारीधनीले आफ्नो सवारीको बीमा अनिवार्य नै गर्नुपर्ने बाध्यता छ । यसका कारण मोटर बीमा व्यवसाय बढ्दै गएको छ । पछिल्लो समय निजी कार, मोटरसाइकल, स्कुटर खरिदगर्ने प्रचलन पनि धेरै बढेको छ, सवारीसाधानको बिक्रीले पनि बीमा व्यवसायमा थप टेवा पुर्याएको छ ।
थर्ड पार्टी बीमा अनिवर्या गरिएकाले सवारी साधानले अन्य मानव जीवन वा सम्पत्तिमा क्षति पुर्याउँदा त्यसको क्षतिपूर्ति बीमाले कभर गर्छ । यसका साथै सडक सुरक्षालाई पनि थप मजबुत बनाउँछ । दुर्घटनामा पीडित व्यक्तिहरुलाई पनि क्षतिपूर्ति दिलाउन मद्दत गर्छ । निजी तथा व्यवसायिक यातायात व्यवसायीहरुले पनि अनिवार्य मोटरको बीमा गर्न थालेका छन् ।
हिमालयन एभरेष्टले बेच्यो सबैभन्दा धेरै मोटर बीमालेख, अन्य कसले कति बिक्री गरे ?
सबैभन्दा धेरै मोटर बीमालेख हिमालयन एभरेष्टले बिक्री गरेको छ । समिक्षा अवधिमा १ लाख ३३ हजार ११० वटा मोटर बीमालेख बिक्री गरेको देखिन्छ । यसको अर्थ अन्य कम्पनीको तुलनामा हिमालयन एभरेष्टले धेरै सावरी साधनहरुका बीमा गरेको भन्ने बुझिन्छ ।
धेरै सवारीको बीमा गर्ने कम्पनीको दोस्रो सूचीमा सिद्धार्थ प्रिमियर छ । कम्पनीले पनि ८ महिननामा १ लाख १३ हजार २३६ वटा बीमालेख बिक्री गरेको छ ।
यस्तै, नेको १ लाख ११ हजार ६४, शिखरले १ लाख ५ हजार ६०५, सगरमाथा लुम्बिनीले १ लाख २ हजार ५६६ वटा मोटर बीमालेख बिक्री गरेका छन् । बीमालेखबिक्री दरका आधारमा मोटर बीमा व्यवसाय तुलनात्मक रुपमा यी पाँच वटा कम्पनीको कब्जामा देखिन्छ ।
प्राधिकरणका अनुसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि ८९ हजार ६४६ वटा, , नेपाल इन्स्योरेन्सले ८९ हजार ४८७ वटा, एनएलजीले ७५ हजार ५२४, प्रभूले ६३ हजार ८८, युनाईटेड अजोडले ६० हजार, सानिमा जिआइसीले ५२ हजार ५१०, राष्ट्रिय बीमा कम्पनीले २० हजार ३३० वटा, ओरियण्टलले ११ हजार र नेशनल इन्स्योरेन्सले ५ हजार ४६० वटा मोटर बीमालेख बिक्री गरेका छन् ।
लघु निर्जीवन बीमा कम्पनीले कति बेचे ?
समिक्षा अवधिमा लघु निर्जीवन बीमा कम्पनीहरुले पनि ३ लाख ८९९ वटा मोटर बीमालेख बिक्री गरेका छन् । प्राधिकरणका अनुसार सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सले बिक्री गरेको छ । कम्पनीले आठ महिनामा ६३ हजार ९१८ वटा बीमालेख बेचेको देखिन्छ ।
यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले ५३ हजार ३२८ वटा, प्रोटेक्टिभ माइक्रले ५१ हजार ११४ वटा मोटर बीमालेख बिक्री गरेको छ । यता, ट्रष्ट माइक्रो इन्स्योरेन्स पनि ४३ हजार ५३ वटा बीमालेख बिक्री गरेको प्राधिकरणले जनाएको छ ।