नेपालको आफ्नै भू-उपग्रह सञ्चालनको आधार तयार गरिने « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

नेपालको आफ्नै भू-उपग्रह सञ्चालनको आधार तयार गरिने



काठमाडौं । सरकारले सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भू-उपग्रह सञ्चालनको आधार तयार गरिने बताएको छ ।

आगामी आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

‘डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ। सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्तारका लागि डिजिटल इकोसिस्टम निर्माण गरिनेछ। आर्टिफिसियल इन्टेलिजेन्सको विकास र नैतिक प्रयोगका लागि संस्थागत र कानुनी आधार तयार गरिनेछ’ उनले भने।

यस्तै उनले दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग र पूर्वाधारको व्यवस्थापनमार्फत गुणस्तरीय दूरसञ्चार सेवाको देशव्यापी पहुँच विस्तार गरिने बताए।

‘सार्वजनिक सेवा प्रसारण संस्थाको सबलीकरण गर्दै आमसञ्चार सामग्री उत्पादन, प्रकाशन र प्रसारणलाई प्रभावकारी बनाइनेछ । हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण व्यवसायीकरण गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

एक स्थानीय तहः एक स्मार्ट हुलाकु को अवधारणाको कार्यान्वयन गरिनेछ र सुरक्षण मुद्रणलाई दिगो र भरपर्दो रूपमा सञ्चालनमा ल्याइने पनि राष्ट्रपति पाैडेलले बताए। 

यस्तै उनले अति संवेदनशील सूचना प्रविधि, पूर्वाधारको सुरक्षा र निरन्तरताको सुनिश्चितता गर्दै सुरक्षित साइबर स्पेस निर्माण गरिने बताए।

सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गरिने पनि उनले उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्