पुरानै ब्याजमा नयाँ महिना : अधिकांश बैंकको ब्याजदर यथावत, ६ वटाको हेरफेर, बचत गर्दा कुन बैंक रोज्ने ? « Arthapath.com
१ जेष्ठ २०८२, बुधबार

पुरानै ब्याजमा नयाँ महिना : अधिकांश बैंकको ब्याजदर यथावत, ६ वटाको हेरफेर, बचत गर्दा कुन बैंक रोज्ने ?



काठमाडौं । अधिकांश बैंकहरुको ब्याजदर यथावत देखिएको छ । जेठ महिनाका लागि धेरै बैंकले बैशाखकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदरमा झिनो गिरावट आएको छ ।

जेठमा १४ वटा बैंकले बैशाखकै ब्याजदर लागू हुने जनाएका छन् । जेठ महिनाका लागि ३ वटाको ब्याजदर सामान्य बढेको देखिन्छ भने बाँकी ३ वटाले घटाएका छन् ।

जेठ महिनाका लागि एभरेष्ट, नेपाल र सानिमा बैंकले ब्याजदर बढाएका छन् । बैशाखमा एभरेष्टले व्यक्तिगत मुद्दति निक्षेप तर्फ ६.६१ प्रतिशत र संस्थागत तर्फ ५.६१ प्रतिशत ब्याज प्रदान गरेको थियो । तर, जेठमा भने व्यक्तिग तर्फ ६.६४ प्रतिशत र संस्थगत तर्फ ५.६४ प्रतिशत ब्याज दिने भएको हो ।

यस्तै, सानिमा बैंकले पनि जेठ महिनामा व्यक्तिगत तर्फ ६.३३ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । बैशाखमा भने क्रमशः ५.९५ प्रतिशत र ४.२ प्रतिशत ब्याज दिइएको थियो । यता, नेपाल बैंकले पनि व्यक्तिगत तर्फ ५.४५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जबकि, बैशाख महिनाका लागि भने क्रमशः ५.१५ प्रतिशत ४ प्रतिशत ब्याज दिएको छ ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि), सिद्धार्थ र कुमारी बैंकले भने ब्याजदर घटाएरका छन् । एनआइएमबिले जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेप तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याजदर तोकेको छ । बैंशाखमा भने क्रमशः ६.५ प्रतिशत र ५.१ प्रतिशत ब्याज दिइएको थियो । यस्तै, सिद्धार्थले पनि व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.७५ प्रतिशत ब्याज दिने भएको छ । बैशाखमा भने बैंकले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६ प्रतिशत र ५ प्रतिशत ब्याज दिएको थियो ।

यता, कुमारी बैंकले पनि बैशाखमा व्यक्तिगत तर्फ ५.९२ प्रतिशत र संस्थागत तर्फ ४.९२ प्रतिशत ब्याज दिइएको छ । तर, जेठमा भने क्रमशः५.९१ प्रतिशत ४.९१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यी बाहेकका अन्य १४ वटा बैंकले भने बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

एनएमबि बैंक र एनआइसी एशियाले व्यक्तिगत र मुद्दति तर्फ क्रमशः ६.६ प्रतिशत र ५.६ प्रतिशत ब्याज दिने भएका छन् । यता, ग्लोबल आइएमई, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले पनि व्यक्तिगत तर्फ बराबरी ६ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत तर्फ भने क्रमशः ४.२५, ४, र ४ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यता, नेपाल एसबिआई, हिमालयन बैंकले व्यक्तिगत तर्फ बराबर ५.५ प्रतिशत ब्याज दने भएका छन् । संस्थागत तर्फ भने क्रमशः ४.५ प्रतिशत र ४ प्रतिशत ब्याज दिने भएका हुन् ।

जेठ महिनामा लक्ष्मी सनराइ, नबिलले व्यक्तिगत तर्फ बराबर ५.७५ प्रतिशत र संस्थागत तर्फ भने क्रमशः ४.५ प्रतिशत र ४.०५ प्रतिशत ब्याज दिने भएका छन् ।

यस्तै, प्राइम र स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत तर्फ बराबरी ६.२५ प्रतिशत ब्याज दिने भए पनि संस्थागत तर्फ भने क्रमशः ३.५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर तोकेका छन् ।

जेठ महिनाका लागि प्रभू बैंकले व्यक्तिगत तर्फ ६.२ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत, सिटिजनले व्यक्तिगत तर्फ ५.६५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत र कृषि विकास बैंकले व्यक्तिगतमा ५.५१ प्रतिशत र संस्थागतमा ३.२५ प्रतिशत ब्याज दिने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्