टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेतसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) घोटालामा संलग्न भएको आरोपसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद मोहन बस्नेतसहितका व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो ।
आयोगको केन्द्रीय कार्यालय टंगालले बिहीबार विशेष अदालतमा १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सांसद बस्नेतसहित नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हरिण्यप्रसाद वस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक संदिप अधिकारीलाई प्रतिवादी बनाइएको छ । त्यसैगरी परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको छ ।
टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरी छनोट गरेर ठूलो रकम घोटाला भएको अख्तियारले जनाएको छ । प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।