सशक्त महिलाको साहसिक यात्रा : भव्य बन्यो ‘कर्पोरेट महिला बाइक र्‍याली २०२५’ « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

सशक्त महिलाको साहसिक यात्रा : भव्य बन्यो ‘कर्पोरेट महिला बाइक र्‍याली २०२५’



काठमाडौं । कर्पोरेट समाचारद्वारा आयोजित ‘कर्पोरेट महिला बाइक र्‍याली २०२५’ काठमाडौंदेखि नगरकोटसम्म भव्य रुपमा सम्पन्न भएको छ ।

महिलाको आत्मबल, साहसिकता र सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको र्‍यालीमा ३५ जना महिला बाइक राइडरको सहभागिता रहेको थियो ।

सडक सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै अल्का अस्पताल, जाउलाखेलबाट एम्बुलेन्स र मेडिकल सहायता सहितको व्यवस्था गरिएको थियो ।

रोयल इन्फिल्ड नेपालको सहकार्यमा सम्पन्न कार्यक्रम नेपालकै पहिलो महिला स्कुटर चालक तथा स्वतन्त्रता आन्दोलनकी अग्रणी कमला श्रेष्ठले औपचारिक उद्घाटन गरेकी थिइन् ।

उद्घाटनपछि श्रेष्ठले र्‍यालीमार्फत महिलाहरूले सिर्फ बाइक होइन, आत्मविश्वास र क्षमताको पनि प्रदर्शन गरेको बताइन् । ‘महिलाहरु अब नेतृत्व र साहसिक कार्यमा कसैभन्दा पछि छैनन् भन्ने प्रमाण यो ¥याली हो’, उनले भनिन् ।

उद्घाटन समारोहमा नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरी, नाडाकै पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, रोयल इन्फिल्ड नेपालका निर्देशक मेघराज पौड्याल तथा कर्पोरेट समाचार अनलाइनकी अध्यक्ष संगिता खत्री समेत सहभागी थिए ।

कार्यक्रममा नाडा अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रमा महिलाको बढ्दो सहभागिता उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले थप प्रोत्साहन दिने विश्वास व्यक्त गरे । महिला बाइक र्‍यालीले नारी योगदानको कदर गर्न सघाउने उनले बताए ।

सोही अवसरमा नाडाका पूर्व अध्यक्ष दुलालले यस्ता अभियानहरूले सामाजिक सोच परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । महिला राइडरहरू केवल सडकमा मात्र होइन, सामाजिक चेतनामा पनि अगाडि रहेको दुलालले बताए ।

राइडरहरूको आत्मबल हामी सबैका लागि प्रेरणा रहेको रोयल इन्फिल्ड नेपालका निर्देशक मेघराज पौड्यालले बताए । महिला आगामी दिनमा यस्ता अभियानमा निरन्तर साथ उनको प्रतिवद्धता छ ।

यस्ता अभियानहरूले महिला सशक्तीकरण मात्र होइन, सामाजिक सोचमा पनि सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

नगरकोट पुगेका राइडरहरूलाई भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौवाञ्जाले स्वागत गरिन्। उनले भनिन्,‘महिलाहरू आज हरेक क्षेत्रमा अगाडि छन्। यस्तो साहसिक यात्राले समाजमा बलियो सन्देश प्रवाह गरेको छ ।’

कर्पोरेट समाचार अनलाइनकी अध्यक्ष संगिता खत्रीले सहभागी र सहकार्य गर्ने सबैलाई धन्यवाद दिँदै भनिन्,‘महिलाहरूको उत्साह र आत्मबल देख्दा हामी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रेरणा पाएका छौं ।’


प्रतिक्रिया दिनुहोस्