प्रधानमन्त्री पत्नी राधिका शाक्यले भनिन्: ‘ढुक्क हुनुहोस्, म राजनीतिमा आउँदिन’  « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

प्रधानमन्त्री पत्नी राधिका शाक्यले भनिन्: ‘ढुक्क हुनुहोस्, म राजनीतिमा आउँदिन’ 



काठमाडौँ । प्रधानमन्त्री पत्नी राधिका शाक्यले आफू कुनै हालतमा राजनीतिमा नआउने बताएकी छिन् । सोमबार आफ्नो आत्मकथा ‘करुणा’का विषयमा संचार माध्यामका सम्पादकहरुसंगको प्रश्नको उत्तर दिँदै शाक्यले आफू राजनीतिमा नआउने प्रश्न पारिन् । 

आज प्रेस चौतारी नेपालले सञ्चार माध्यमका सम्पादकहरूसँग संवादमा बोल्दै शाक्यले आफूले हरेक दिन जसो केही न केही लेखिरहने विगत देखिको बानीकै कारण करुणा जन्मिएको बताइन् । 

‘म धेरै पहिले देखि नै आफूले देखेका, भोगेका र सुनेका कुराहरू टिपोट गरेर राख्ने गर्थेँ’ शाक्यले भनिन् ‘ती टिपोटहरूलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो । यसमा मेरा अनुभूतिहरू समेटिएका छन् ।’ शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको उल्लेख गर्दै गफ गरेर समय बिताउनु भन्दा कुनै सृजनात्मक काम गरौँ भन्ने उद्देश्यले यो कृति तयार गरेको बताएकी थिइन् । 

‘आजै बिहान पनि खाना बनाउँदै गर्दा ली क्वान युको किताबका केही पाना पढिरहेकी थिए’ शाक्यले भनिन् ‘जीवनमा साथी जस्तै हो पढ्ने लेख्ने कुरा मेला लागि ।’ आफूले पुस्तक लेखेको कसैलाई कुनै सन्देश दिन वा फाइदाका लागि नभई केवल आफ्ना अनुभूतिको दस्तावेजिकरणका लागि लेखिएको उहाँले बताइन् । 

पुस्तकको संवादका क्रममा सम्पादकहरूले  शाक्यलाई तपाईँ राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेका थिए । शाक्यले सबैले ढुक्क हुन आग्रह गर्दै ‘म राजनीतिमा आउँदिन । तपाईँहरू ढुक्क हुनुहोस् । मेरो उमेर छँदा त पूर्ण कालिन राजनीतिमा आइन भने अब त त्यस्तो सोचाइ नै छैन ।’ 

आफूले राजनीति नगरे पनि राजनीतिचाँही बुझ्ने उहाँले बताइन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न थुप्रै नेता कार्यकर्ता आउने गरेको तर उनीहरू किन आए भन्ने कुरामा आफूलाई चासो नभएको उहाँले बताइन् । ‘उहाँलाई भेट्न धेरै नेता कार्यकर्ता आउँछन् । उनीहरू किन र के का लागि आउँछन् म कहिल्यै सोध्दिन । किनभने म राजनीति गर्दिन तर राजनीतिचाँही बुझ्छु’ शाक्यले भनिन् । 

शाक्यलाई सम्पादकहरूले सोधे आफू प्रधानमन्त्री नबन्ने ?’ शाक्यले आफूलाई प्रधानमन्त्री बन्न रुचि नभएको स्पष्ट पारे । ‘म प्रधानमन्त्री बनेर देश बन्ने हैन । देश बनाउन धेरै गाह्रो छ । आफूसँग टिम चाहिन्छ । राजनीति अस्थिरताले देश निर्माणमा ठुलो अवरोध गरिरहेको छ ’ शाक्यले भनिन् । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता भएको कार्यक्रममा कवि एवं समालोचक प्रा.डा.देवी नेपाल र वरिष्ठ पत्रकार, एवं लेखक बविता बस्नेतले करुणा माथि समीक्षा गरेका थिए । 

डा. नेपालले पुस्तक ध्वनि, व्यञ्जना, रस आदि सबैको उचित संयोजन भएको बताए । उनले लेखकको हृदय र मस्तिकबाट ‘करुणा’ जन्मिएको बताएका थिए । अर्की समीक्षक बस्नेतले पुस्तक भनेको समयको चिनारी भएको बताइन् । ‘राधिका शाक्यले आफ्ना अनुभवको दस्तावेजिकरणबाट पुस्तक जन्माइन । पुस्तक प्रेमले पुस्तकालय खोल्नुभयो’ बस्नेतको सुझाव दिँदै भनिन ‘पुस्तक पढ्दा लाग्छ यसको नाम करुणा नभएर कल्पवृक्षको सही हुन्थ्यो कि ।’  

राजधानीको होटेल मक्र्योरमा भएको कार्यक्रमको सञ्चालन प्रेस चौतारीका महासचिव हिरामान लामाले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्