गभर्नरकाे नियुक्तीकाे राजनीतिक रस्साकस्सी अन्त्य, डा. पौडेल बन्ने सुनिश्चित !

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा लामो समयसम्म चलेको राजनीतिक रस्साकस्सीपछि अन्ततः शीर्ष नेताहरूबीच सहमति जुटेको छ ।
सहमति अनुसार डा. विश्वनाथ पौडेल गभर्नर नियुक्त हुने पक्का भएको छ । पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति जुटेको हो । मंगलबार बिहान ओली–देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति कायम भएको हो ।
पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका डा. पौडेल गभर्नर चयनका लागि गठित सिफारिस समितिका सदस्य पनि थिए । तर, नेपाली कांग्रेसको प्रस्तावमा उनी गभर्नरका उम्मेदवार बनेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
गभर्नर सिफारिस समितिको बैठक पनि मंगलबार ४ बजे बोलाइएको छ । गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउने तयारी स्वरूप बैठक बस्दैछ ।
सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले बैठक आह्वान गरेका हुन् । सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे पनि सदस्यको रूपमा छन् ।
बैठकमा गभर्नर छनोटका लागि आवश्यक प्रक्रिया लगायतका बारेमा छलफल हुनेछ । बैठकबाट डा. पौडेललाई गभर्नर बनाउनेगरि अन्य दुई जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । समितिले सिफारिस गरेको तीन जनाको नामबाट एक जना गभर्नर नियुक्ति गर्ने प्रावधन छ ।
स्रोतका समितिले डा. विश्व पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नरसमेत रहेकी डा. निलम ढुङ्गाना, नविल बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रकाश श्रेष्ठ लगायत मध्ये तीन जनाको नाम सिफारिस गर्नेछ ।
तर, राजनीतिक तहबाट सहमतिबाट पौडेललाई गभर्नर बनाउने लगभग निश्चित भइसेको हुँदा बाँकी दुई जनाको नाम भने प्रक्रियागत आवश्यकताका आधारमा समावेश हुनेछ ।