भारतबाट हालसम्मकै सस्तो मूल्यमा विद्युत् आयात गर्न सफल भएको प्राधिकरणकाे पुष्टि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट हालसम्मकै सस्तो मूल्यमा विद्युत् आयात गर्न सफल भएको जनाएको छ।
विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जेठ ११ गते भारतको ऊर्जा विनिमय बजार (आईआईईएक्स) को रियल टाइम बजारबाट दिउँसोको समयमा प्रतियुनिट १.१५ रुपैयाँमा बिजुली खरिद गरिएको जनाएका छन् ।
ढकालका अनुसार जेठ ११ गतेकै दिन भारतमा विद्युत् माग कम हुनुका साथै सौर्य ऊर्जाबाट उत्पादन वृद्धि हुँदा सस्तो मूल्यमा बिजुली खरीद गर्न सम्भव भएको बताएका छन् । प्राधिकरणले उक्त अवसरको सदुपयोग गर्दै ३ हजार ८४० मेगावाट घण्टा बिजुली आयात गरेको जनाएको छ।
त्यसैदिन साँझ प्राधिकरणले ५२७.५ मेगावाट विद्युत् भारतलाई भारतीय रुपैयाँ ६.६० (नेपाली रुपैयाँ १०.५६) प्रतियुनिट दरमा निर्यात गरेको ढकालले जानकारी दिएका छन्।
प्राधिकरणका अनुसार जेठ ३ गतेदेखि १० गतेसम्म नेपालले भारतबाट २७ हजार ६४५.९४७ मेगावाट बिजुली औसत ३.३७ रुपैयाँ प्रतियुनिट दरमा आयात गरेको छ।
सोही अवधिमा नेपालले भारतलाई ८ हजार ४१७.५२५ मेगावाट विद्युत् औसत ५.५ रुपैयाँ प्रतियुनिटमा निर्यात गरेको प्राधिकरणले जनाएको छ।
यसरी नेपालले औसत ३.३७ रुपैयाँमा बिजुली किन्दै ५.१५ रुपैयाँमा भारतलाई बेचिरहेको प्राधिकरणको दाबी रहेको छ।
प्राधिकरणका अनुसार, वर्षा सुरु भएसँगै जलाशयमा पानीको बहाव बढेको र त्यसले उत्पादन वृद्धि गरी पिक आवरमा विद्युत् निर्यात गर्न सहज भएको जनाएको हो।